जुम्ला– कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान नहुँदा नागरिकले सास्ती पाएका छन् विगतकै जस्तो जहाजहरू मोटो रकम कमाउने दाउमा पूर्वतिर गएपछि कर्णालीमा हवाई उडान ठप्प हुँदा नागरिकले सास्ती पाएका हुन् । जुम्लाको जुम्ला विमानस्थल, मुगुको ताल्चा विमानस्थल, हुम्लाको सिमिकोट विमानस्थल र डोल्पाको जुफाल विमानस्थलमा करिब दुई सातादेखि उडान भएको छैन ।
नियमित उडान नहुँदा हुम्ला, डोल्पा मुगु र जुम्लाबाट तत्काल परीक्षा दिन जाने विद्यार्थी, उपचार गराउन जाने विरामी सबै प्रभावित भएका छन् । नेपालगन्जबाट दैनिक उडान भर्ने जहाज केही बिग्रिएको र केही पर्यटक ओसार्न पूर्वतिर गएपछि कर्णालीमा हवाई यात्रा ठप्प हुँदा नागरिकले सास्ती पाएका छन् । जहाजहरू वर्षेनी यही सिजनमा प्रायः कर्णालीमा उडान ठप्प गरेर लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा पर्यटक बोक्न जाने गरेका छन् ।
जुम्लासहित कर्णालीमा नियमित उडान गर्दै आएका तारा, समिट, सिता एयरले पर्यटक बोक्ने समयमा कर्णालीका जनतालाई बेवास्ता गर्दै आएका छन् । नेपाल एयरलाइन्सले जुम्लामा हप्तामा दुई उडान गरे पनि केही दिनयता बिग्रिएकाले उडान भएको छैन । त्यस्तै नियमित उडान गर्ने समिट एयरमा पनि प्राविधिक समस्या आएपछि कर्णालीमा उडान रोकिएको हो । हप्ताको बुधबार उडान गर्ने सिता एयर, शनिबार उडान गर्ने तारा एयरसमेत नियमित उडान नगर्दा कर्णालीमा उडान नगरेको नागरिकको गुनासो छ ।
आइतबार र सोमबार उडान गर्ने नेपाल एयरलाइन्समा समेत खराबी आएपछि उडान भएको छैन । यद्यपी तारा एयरले भने शनिबार नियमित उडान गर्दै आएको दाबी गरेको छ । गत शनिबार पनि उडान गरेको र आउने शनिबार पनि उडान गर्ने बताएको छ भने सिता एयरको जहाज पोखरा उडान गरिरहेको र ढिलामा जेठ पहिलो हप्ताबाट मात्रै कर्णालीमा उडान गर्ने बुझिएको छ ।
उडान नहुँदा अस्पतालबाट रेफर हुने बिरामी, कामले जिल्लाबाहिर जाने कर्मचारीदेखि सर्वसाधारण अलपत्र परेका छन् । पटक पटक जुम्लामा नियमित उडान गर्नुपर्ने, नगरे उडानमै रोक लगाउने निर्णय गरेपनि वर्षेनी निजी विमानले ठूलो धनराशी कमाउन कर्णालीमा उडान ठप्प गरेर पूर्वतिर जाने गर्दै आएका छन् । निजी विमान कम्पनीले सेवाभन्दा आफ्नो मुनाफाका लागि बढी काम गर्दा समस्या भएको जनगुनासो छ ।
कर्णालीमा उडान ठप्प भएको कारण भर्खर सम्पन्न जुम्ला–रारा अल्ट्रा म्याराथन सहभागी हुन नाम दर्ता गरेका १६ जना विदेशी र नेपाली खेलाडी जुम्ला आउन पाएनन् । कर्णाली स्पोर्ट क्बलका अध्यक्ष सरोज शाही भन्छन्, ‘नियमित उडान नहुँदा म्याराथनमा १६ जना खेलाडी सहभागी हुन सकेनन् । जुम्ला पुगेका खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ पनि गाडीमै फर्किए । एनए र समिट एयरलाइन्स बिग्रिनु, तारा र सिता एयरले नियमित उडान नगर्नुले धेरै समस्या भयो । बिरामी जान पाएका छैनन् । हवाई उडान सहज बनाउन कसैको ध्यान छैन ।’
कर्णालीका हुम्ला मानसरोवर, डोल्पा शे–फोक्सुण्डो, मुगु रारा ताल, जुम्ला सिञ्जा चन्दननाथ तातोपानी आउने पर्यटकले सहजै हवाई टिकट पाउन सकिरहेका छैनन् । सडक पहुँच नपुगेको हुम्ला र डोल्पामा हवाई यातायात नै एकमात्र आवतजावतको माध्यम हो । तर हवाई उडान नियमित नहुँदा डोल्पाली र हुम्ली नागरिकले सास्ती खेप्नु परेको छ । यो वर्ष समिट र नेपाल एयरलाइन्स बिग्रिए पनि गत वर्षतिर भने कर्णालीमा उडान गर्ने सबै जहाज पर्यटक बोक्न पूर्वतिर जाने गर्थे । यस वर्ष दुई जहाज बिग्रिनु र अन्य जहाजलाई पर्यटक बोक्न भ्याइनभ्याइ भएपछि कर्णालीको हवाई सेवा ठप्प भएको हो ।



