कालिकोटको सुनथराली विमानस्थल उडानमै सिमित

जुम्ला । कालिकोटको सुनथराली विमानस्थल उद्घाटनमै सिमित भएको छ । करिब चार दशकपछि निर्माण सम्पन्न भई औपचारिक उद्घाटन गरेपनि उडान नहुँदा विमानस्थल उद्घाटनमै सिमित भएको हो ।

३८ वर्षपछि निर्माण सम्पन्न भएको कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं.१ कोटबाडा स्थित सुनथराली विमानस्थल गत फागुन १४ गते भव्य उद्घाटन भएको थियो । उद्घाटनका क्रममा तत्कालीन रक्षा मन्त्री पूर्ण बहादुर खड्का र पर्यटन मन्त्री सुदन किँरातीले सक्भर नियमित नभए हप्तामा एक उडान अनिवार्य गर्ने बाचा गरेका थिए ।

तर विमानस्थल उद्घाटन भएको झण्डै दुई महिना पुग्न लागिसक्दा पनि उडान शुन्य हुँदा सुनथराली विमानस्थल उद्घाटनमै सिमित भएको कालिकोटबासीको गुनासो छ । २०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थल निर्माणको काम गरीरहेका नहरीनाथ १ का टेक बहादुर विष्ट सहित ३६ जना कामदारको निर्मम हत्यागरी एउटै चिहान बनाएको थियो । २१ वर्षीय छोरा टेक बहादुर गुमाएकी आमा मृगा विष्टले सुनथराली उद्घाटनपछि हप्तामा एउटा जहाज आउने कुराले उत्साहित थिईन् ।

तर आजसम्म पनि एउटा जहाज नआएपछि राज्यले ३६ जनाको एउटै चिहान बनाएरकाहरुको आत्म शान्ति र आफन्तहरुको मर्म बुझन् नसकेको गुनासो पोखिन । उनले भनिन,‘नत राज्यबाट मृत्तक परिवारले उचित राहत पायौ । न पाउने आशा छ । नियमित जहाज आएको भएपनि मृत्तक आत्माले शान्ति पाउन्थ्यो कालिकोटबासीको जहाज चढ्ने सपना पुरा हुन्थ्यो । तर आश्वासन दिएर पनि उडान हुन सकेको छैन् । खै हाम्रा लागि राज्य कहाँ छ ?’

एयरपोर्ट उद्घाटन भएदेखि कालिकोटबासी जहाजकै पर्खाईमा रहेको नरहरीनाथ गाउँपालिका वडा नं.९ का वडाध्यक्ष प्रदिप बोहोराले बताए । राज्यको करोडौ लगानीमा विमानस्थल निर्माण भएपनि प्रयोग विहिन हुनु राज्यकै असक्षमता हो ।
उनले भने,‘मन्त्रीदेखि सांसदले उद्घाटनका क्रममा हजारौको सख्ंयामा उपस्थित नागरिकलाई तपाईहरु तयार भएर बस्नुहोस् अब हप्तामा एउटा उडान हुन्छ । कालिकोटको जहाज चढ्ने सपना चाडै पुरा हुन्छ ढुक्का हुनुहोस भन्दै आश्वासन दिएका थिए । तर उद्घाटन भएको दुई महिना बित्दा पनि एउटा जहाज आएको छैन् ।’


सुनथराली विमानस्थलमा हप्तामा एक उडान गर्ने कार्यतालिकानै बनाएर तत्काल कार्यान्वयन गर्ने भनिएपनि उद्घाटनमा मन्त्री सांसद बोकेर आएका जहाज फागुन १४ गतेदेखि हाल सम्म फर्केर आएका छैनन् ।

नरहरीनाथ १ का स्थानीय ज्ञान बहादुर विष्ट सरकारले चासो नदिएकै कारण एयरपोर्ट निर्माणदेखि उद्घाटन र नियमित उडानको सवाल पेचिलो नबेको बताउँछन् । उनी भन्छन,‘राज्यकै उदासिनताले एयरपोर्ट निर्माण हुन चार दशक लागेको । उद्घाटनमै वर्षौ बित्यो । अब जहाज चढ्न अझ कति वर्ष कुर्नु पर्ने हो ? मन्त्रीको बोलीको ठेगान नहुने भएपछि कालिकोटको पिडा कसले बुझ्ने ?’

हप्तामै एउटा उडान गर्नका लागि भएपनि कालिकोटका कुनै दलका नेताको सक्रिया देखिन्न । बरु सत्ता परिवर्तनले सुनथरालीमा जहाज उडानको विषयमा सरकारको ध्यान केन्द्रित नभएको भन्दै टारिरहेका छन् ।

यता नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर विष्टले सबै प्रक्रिया पुरा भईसकेपनि नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएकोले उडान नभएको बताए । उनले भने,‘नेपालगन्ज कालिकोट, सुर्खेत कालिकोट र धनगढी कालिकोटको भाडा दर समेत कायम भईसकेको छ । तर अनुमति नपाएका कारण उडान हुन सकेको छैन् । मन्त्रीहरुले गरेको बाचानुसार उडान गर्नका लागि पहल नगर्नु र आज सम्म एउटा जहाज नआउनु दुखद पक्ष हो ।’

नेपालगन्ज कालिकोटका लागि प्रति व्यक्ति पाँच हजार ५५१ रुपैया,सुर्खेतबाट तीन हजार ९०१ रुपैया र धनगढीबाट पाँच हजार २४९ रुपैया लाग्ने भाडादर समेत निर्धारण भईसकेको छ । जत्तिकै सुकै व्यवस्थापन गरेपनि परिणाममा विमानस्थल उद्घाटनमै सिमित भएको र केन्द्र सरकारले उपेक्षा गरेको भन्दै कालिकोटका स्थानीयले आक्रोस पोखेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस