जुम्लाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवाला एकजुट,होला त सुधार ?

जुम्ला । जुम्लामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय एकजुट भएका छन् । कर्णाली राजमार्गको विकास र स्थानीयतहले गाउँ गाउँमा सडक पहुँच विस्तार गरेसंगै बढ्दो सवारी चापपछि ट्राफिक व्यवस्थापनमा देखिएको समस्या हल सरोकारवाला एकजुट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा आईतबार आयोजित अन्तरक्रियामा सहभागी सरोकारवाला व्यक्तिले ट्राफिक प्रहरी एक्लैले मात्रै सबै काम गर्न नक्सने भन्दै सुरक्षित जुम्ला निर्माणका लागि ट्राफिक व्यवस्थापनका लागि आबश्यक सहयोग गर्ने बताएका हुन्
सडक अतिक्रमण बढेको,नागरिकमा ट्राफिक चेतना नभएको,सवारीले क्षामता भन्दा बढी यात्रु बोक्ने गरेको,विभिन्न ठाउँमा राखिएका ट्राफिक संकेत तथा चिन्हहरु नभएको,अधिकांश ठाउँमा सडक तथा गल्लीहरु साँघुरो भएको,मनपरी पार्किङ भईरहेको लगायतका समस्याले ट्राफिक व्यवस्थापनमा चुनौती भएको प्रहरी नायब उपरिक्षक छदीलाल कामतीले बताए ।

जुम्लाको मुख्य बजारदेखि रारा लिहि,त्रिबेणी कुडारी,तातोपानी,एैरेनी उम्गाड,बसपार्क,एयरपोर्ट लगायतका ठाउँमा व्यवस्थित तथा सहज ट्राफिक व्यवस्थापन गर्न सबै सरोकारवालाको रचनात्मक सहयोग चाहिएको उनको भनाई छ ।

सवारीको चाप संगै बढ्दो दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनलाई अभियानकै रुपमा संचालन गर्न लागिएको डिएसपी कामतीले कर्णाली मिसनलाई जानकारी दिए ।अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले मानवीय प्रयोजनका लागि सडक,गल्ली,सदरमुकामको बजारदेखि ग्रामिण बजार दुर्घटनाको जोखिम बढेको बताए । सदरमुकामदेखि आठै पालिकाका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनु पर्ने उल्लेख गरे । उनले ट्राफिक प्रहरीलाई सम्बन्धीत स्थानीयतहले आबश्यक सहजीकरण तथा समन्वय गर्न पनि आग्रह गरे ।

चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नगपालिकाले पनि आबश्यक सहयोग गर्ने बताए । पार्किङ व्यवस्थापनलाई पहिलो प्रथामिकता दिने उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले यातायात व्यवसायी तथा सवारी चालकलाई पनि ट्राफिक नियमको पालना गर्न आग्रह गरे । नागरिकममा ट्राफिक चेतना नहुनु र सडक साँघुरो हुनुले जोखिम बढीरहेको अबस्थामा चालक,यातायात व्यवसायी,स्थानीय नागरिक सबै सचेत हुनु पर्नेमा प्रजिअ घिमिरेले जोड दिए ।

साथै अन्तरक्रियामा सहभागी सबै सरोकारवालाले जुम्लाको ट्राफिक व्यवस्थापनलाई विगतको भन्दा प्रभावकारी र सहज बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । ट्राफिक व्यवस्थापनबारे विभिन्न पटक पटक छलफल तथा निर्णय भएपनि कार्यान्वयनमा समस्या देखिएको छ । आईतबारको छलफलमा सरोकारवाला एकजुट देखिएपनि कार्यान्वयन हुनेमा नागरिक ढुक्क छैनन् ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस