दुर्गमका विद्यालयमा भूकम्प प्रतिरोधी भवन

जुम्ला । सिंजा क्षेत्रका तीन स्थानीयतहका पाँच वटा सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको छ । सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका पाँच वटा सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको हो ।

बढ्दो भूकम्पीय जोखिम तथा बालमैत्री कक्षा कोठाको अभावले विद्यार्थीको आर्कषण घट्दै गएको अबस्थालाई मध्यनजर गर्दै भुकम्प प्रतिरोधी भवन निर्माण गरिएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानले बताए
हिमाको वडा नं. ७ स्थित महादेव आधारभूत विद्यालय र वडा नं. ३ जोगीबाडाको भैरब आधारभूत विद्यालय,सिंजाको वडा नं. ६ जोडु स्थित माध्यमिक विद्यालय र कनकासुन्दरीको वडा नं.४ लेकपोरको भैयलपाटा आधारभूत विद्यालय र वडा नं. ६ को गुरुचौर आधारभूत विद्यालय गरी पाँच वटा विद्यालयमा सुविधायुक्त भवन निर्माण गरिएको हो ।

प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा पेश नेपालद्धारा संचालित आधार परियोजनाको झण्डै तीन करोडको लगानीमा पाँच सामुदायिक विद्यालयमा भुकम्प प्रतिरोधी भवन निर्माण गरिएको कार्यकारी निर्देशक न्यौपानले उल्लेख गरे ।
जसमा सिञ्जा–६ जोडु गाउँको माध्यमिक विद्यालय ६५ लाख ३३ हजार,हिमा–७ को महादेव आधारभूत विद्यालय र वडा नं. ३ जोगीबाडाको भैरब आधारभूत विद्यालयमा १ करोड २४ लाख लगानीमा भवन निर्माण भएको हो ।

त्यस्तै,कनकासुन्दरी–४ लेकपोरको भैयलपाटा आधारभूत विद्यालय र वडा नं. ६ को गुरुचौर आधारभूत विद्यालयमा १ करोड २२ लाख ५४ हजार लागतमा भुकम्प प्रतिरोधी भवन निर्माण भएको छ ।
पाँच वटै नयाँ निर्माण भएका चारकोठे भवनमा लेकपोरको विद्यालय बाहेक अरु चार भवनमा आबश्यक कार्पेट, डेक्स–बेन्चसहितको व्यवस्थापन पनि गरिएको छ ।

मैत्रीपूर्ण शौचालय, हात धुने स्टेसन, शुद्ध खानेपानी सुविधा, सुधारिएको बच्चा, मोडेल कक्षाकोठा बालमैत्री, अपागमैत्री, छात्रछात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठासहितको सुविधा पाँच वटै भवनमा रहेका छन् ।

सामुदायिक विद्यालय प्रतिको आर्कषण बढाउन आधार परियोजना मार्फत बालबालिका आर्कषित हुने खालका संरचना र व्यवस्थापन गरिएको कार्यकारी निर्देशक न्यौपानको भनाई छ ।

गत वर्ष असोजको बेमौसमी वर्षाले विद्यालय भवनमा क्षति भएपछि खुला चौरमा बसेर पढ्न बाध्य विद्यार्थीलाई नयाँ भवन निर्माणले राहत मिलेको सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । उनले भने,‘सबै सुविधासहित भुकम्प प्रतिरोधी भवन निर्माण भएको छ । अब पठपाठनमा सहज हुने आशा छ । आबश्यकता मध्यनजर गरी भवन निर्माण भएका छन् । सबै पालिकाले संरक्षण संगै प्रयोगमा ल्याउन आबश्यक छ ।’

धेरै वर्ष पुराना जीर्ण भवनमा पठपाठन गर्न बाध्य दुर्गमका सामुदायिक विद्यालय नयाँ भवन पाएपछि निकै उत्साहित भएका छन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले भूकम्प,बाढी पहिरोले जीर्ण हुदैँ गएका विद्यालयमा नयाँ भवन निर्माणले राहत पुराएको बताए ।

सिमित स्रोतले सबै आबश्यकता पुर्ति गर्न पालिकाले लगानी गर्ने अबस्था छैन् । स्थानीय तहलाई माथि उठाउन,शैक्षिक,आर्थिक सामाजिक विकास र समृद्धीमा गैरसरकारी संस्थाहरुको सहयोग अतुलनिय रहेको उनको भनाई छ ।

सरकारले भूगोलनुसार बजेट नदिँदा दुर्गम क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैनन् । विकास साझेदार निकाय संग समन्वय गरी पालिकाले गर्न नसक्ने विकासका आयोजना अघि बढाउन जरुरी रहेकोमा अध्यक्ष शाहीले जोड दिए ।
फोटो क्याप्सनः सिंजा ६ जोडुमा निर्माण भएको भुकम्पप्रतिरोधी भवन । तस्बिर ःसागर परियार ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस