नाग्म–गमगडी सडकको ६ किमी पिच हुदैँ,बाँकी ८७ किमी पिच हुने कहिले ?

जुम्ला । नेपालकै आर्कषक पर्यटकिय गन्तव्य रारा ताल जाने मुख्य पर्यटकिय मार्ग नाग्म–गमगडी सडकको कालोपत्रे गर्न थालिएको छ । नेपाली सेनाले ट्रयाक खोलेर २०६९ पुस १ गतेदेखि संचालनमा आएको सडक करिब एक दशकपछि कालोपत्र गर्न थालिएको हो ।

कुल ९३ किमी दुरी रहेको नाग्म–गमगडी सडक अन्तरर्गत हाल ६ किलोमिटर सडकलाई मात्र कालोपत्रे गर्न थालिएको सडक डिभिजन जुम्लाले जनाएको छ । सडक संचालनको एक दशकमा बल्ल ६ किमी कालोपत्रे भएको उक्त सडकको बाँकी ८७ किमी सडक कहिले कालोपत्रे होला ?

जुम्लाबासीेले यो प्रश्न गरीरहेका छन् । कालोपत्रेका लागि भनेर छुटै बजेट नआउँदा काम अघि बढेको छैन् । यो विषयमा मुगु जुम्लाका सांसदहरुको केन्द्रमा पहल कमजोर देखिएको छ ।

जुम्लाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर शाहीले आफ्नो कार्यकाभरी नाग्म–गमगडी सडकको कालोत्रपे गरेरै छाड्ने बाचा गरेका छन् । अन्य सांसदहरुले पनि बेला बेला उक्त सडकको विषयमा चासो व्यक्त गरिरहेका छन् । तर देखिने खालको कुनै काम हुन सकेको छैन् ।

नाग्म–गमगडी सडक पुर्ण रुपमा कालोपत्रे भएको हेर्ने र सरर गाडी चढ्ने प्रतिक्षामा कर्णालीबासी मात्र छैनन् । सिंजा उपत्यका हुदैँ रारा आउने हरेक पर्यटकको चाहना नाग्म–गमगडी सडक छिटै कालोपत्रे होस भन्ने छ । तर ठोस पहल कदमीको अभाव र संघिय सरकारले कर्णालीको सडक पूर्वाधार विकासमा गरेको नजर अन्दाजका मारमा नाग्म–गमगडी सडक संगै कर्णाली राजमार्ग लगायत अन्य आयोजनाहरु छन् ।

यदपी, हाल नाग्म–गमगडी सडक अन्तरर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा पर्ने कनकासुन्दरी–७ रोकायाबाडा गाँउँदेखि वडा नं. २ बोतागाउँसम्म ६ किमी सडक कालोपत्रे गर्न थालिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर हहादुर घर्तीमगरले बताए ।

उनका अनुसार महावु हुदैँ नाग्म–गमगडी सडक निर्माणको ठेक्का अन्तर्गत ३५ करोड लगानी भित्र ६ किमी सडक कालोपत्रे हुन लागेको हो । ०७८ पुष १२ गते सम्झौता भएको उक्त योजना ०८१ को पुषमै सक्नु पर्ने सम्झौता भएको छ । कालोत्रपे देखि नाग्म गमगडी सडकको अन्य निर्माणको ठेक्का थोदुङ बासना जेभी निर्माण कम्पन्नीले लिएको सूचना अधिकारी घर्तीले जानकारी दिए ।

कालोत्रपेका लागि भनेर छुट्ै कुनै बजेट नरहेको र महावु नाग्म गमगडी सडक स्तरन्नोती अन्तरर्गतको बजेटबाट यो वर्ष ६ किमी सडक कालोपत्रे गर्न थालिएको उनको भनाई छ । ९३ किमी दुरीको उक्त सडकको ३२ किमी रोकायाबाडा देखि ३८ किमी बोतासम्म बीचको ६ किमी कालोपत्रे गर्ने योजना रहेको छ ।

बहुवर्षीय योजनाका रुपमा नाग्म–गमगडी सडक स्तरबृद्धि भईरहेको छ । यदपी, उक्त सडकको कालोपत्रेका लागि संघिय सरकारले छुट्ै बजेट विनियोजन गर्न सकेको छैन् । सडक डिभिजनले पटक पटक माग गरेपनि सुनुवाई भएको छैन् ।
तत्कालका लागि ६ किमी मात्रै पिच भएपनि दैनिक यात्रा गर्ने यात्रु र पर्यटकले राहत पाउने अपेक्षा गरिएको छ । हालसम्म पुर्ण सडक ग्राभेल समेत नभएको अबस्थामा सिंजा उपत्यका हुदैँ रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् । कर्णाली राजमार्गको एक लेनको सडकमा जोखिम मोल्दै आएका पर्यटकले नाग्म–गमगडी सडकमा धुलो धुवाले कष्ट व्यहोर्ने गरेका छन् ।

तर अधिकांश ठाउँमा ग्राभेल र ६ किमी दुरी कालोपत्रे भएपछि रारा आउने पर्यटकलाई विगतको भन्दा केहि सुविस्ता हुने अपेक्षा गरिएको सिंजा सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए । सबै सरोकारवालाको पहलले उक्त सडकको कालोपत्रेका लागि रातो किताबमै बजेट ल्याउन सकिएको खण्डमा केहि वर्षमा काम सकिने उनको भनाई छ ।

तर कर्णालीको पहुँच केन्द्र सरकारमा नपुग्दा र केन्द्रले कर्णालीको भूगोललाई समेटेर बजेट नदिाँदा हाम्रा विकास आयोजना सधै उपेक्षामा पर्ने गरेको उल्लेख गरे । बजेट अभावकै कारण कर्णालीमा पूर्वाधार विकासका आयोजना निर्माणमा ढिलाई हुने गरेको छ । सडकखण्डमा पानी व्यवस्थापन गर्न नाला बनाउने,पहिरो रोक्न पक्की पर्खाल बनाउने लगायत सडक चौडा बनाउने काम समेत भईरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकलाई सुधार गर्न सकेमा पर्यटक अपेक्षानुसार आउने छ । भौगोलिक अबस्था र विकासमा सरकारी उपेक्षा गर्दा कर्णालीमा एक पटक आएको पर्यटक फेरी आउने अबस्था छैन् ।

कर्णालीमा पर्यटक टिकाउन मुख्यतया होटल बास सडक पूर्वाधारकै समस्या देखिएकोले कर्णालीमा पर्यटनको सम्भावनालाई मध्यनजर गरी पूर्वाधार निर्माण सरकारले विशेष ध्यान दिनुपर्ने कर्णालीबासीको माग छ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस