जुम्ला – सिंजा गाउँपालिका – ३ धितालिहीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको सहजीकरण तथा ब्रिटिश गोर्खाज् नेपाल कादुरीको आयोजनामा वैशाख १५ देखि १८ गतेसम्म तीन दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा महिला एक हजार ४४८ जना र पुरुष ९०१ जना गरी दुई हजार ३४९ जनाको स्वास्थ्य परीक्षण भएको छ ।
सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूतिरोग, मुटुरोग, दन्तरोग, हाडजोर्नी, आँखा, नाक कान घाँटीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । उनले भने १०१ जना महिला र ८६ जना पुरुष गरी १८७ जनाले प्रयोगशाला सेवा लिएका छन् ।

शिविरमा ५१३ जना महिलाले पाठेघर चेकजाँच गरेका छन् । ७ जना महिलाको पाठेघरमा रिंग राखिएको छ । ५५ जना महिलाले भिआइए सेवा लिएको संयोजक रोकायाले बताए ।
१६५ जना नागरिकले मुटु जाँच सेवा लिएका छन् । यसमा महिला ७१ जना र पुरुष ९४ जना रहेको जनाएको छ । ७३६ जना महिला र एक हजार ३२६ जना पुरुष गरी दुई हजार ६२ जनाले शिविरमा बहिरंग सेवा लिएका छन् ।
यस्तै ४४८ जना पुरुष र एक हजार ११० जना महिला गरी एक हजार ५५८ जनाले शिविरमा आँखा चेकजाँच गराएका छन् । यस मध्ये २९ जना पुरुष र ३४ जना महिलाको आँखा शल्यक्रिया गरिएको स्वास्थ्य संयोजक रोकायाले बताए । उनले भने ४११ जना पुरुष र ८६९ जना महिला गरी एक हजार २८० जनालाई चस्मा वितरण गरिएको छ ।
२२८ जना पुरुष र ३८८ जना महिलाले डेन्टल सेवा लिएका छन् । यस मध्ये ५३४ जनाको दात निकाएको छ । २७ जनाले एआरटी भर्ने काम गरेका छन् । १२० जनाको दात सफा गरिएको जनाएको छ ।

सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीका अनुसार दुर्गम भेगका नागरिक समयमै अस्पताल जान सकेका हुदैनन् । रोग पालेरै बसेका हुन्छन् । विशेषगरी पाठेघर समस्या भएका ग्रामिण भेगका महिला खुल्दैनन् । गाउँघरमै यस्ता घुम्ती शिविरले सेवाग्राहीलाई सहज हुने गर्दछ । उनले भनिन्, यस्ता एककिृत घुम्ती शिविर सिंजा गाउँपालिकाले बेला बेला सञ्चालन गर्ने गरेका छ । यसबाट धेरै सेवाग्राही लाभान्वित भएका छन् । एकै जना व्यक्तिले शिविरमा थरी थरीका सेवा लिएका छन् ।
स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सेवा उपलव्ध गर्ने उद्देश्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने सिंजा भेगमा तीन वटा पालिका रहेका छन् । यो क्षेत्रको केन्द्र विन्दु सिंजा गाउँपालिकाको धितालिहीमा शिविर सञ्चालन गरिएको हो । यो क्षेत्रका हिमा, कनकासुन्दरी र सिजा गाउँपालिका स्थानीयवासीले सेवा लिएका छन् ।




