दुईदिने अन्तराष्ट्यि मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न,जुम्ला घोषणापत्र जारी


जुम्ला । जुम्लामा पहिलोपटक आयोजित प्रथम ‘अन्तराष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा संचालित दुईदिने अन्तराष्ट्यि सम्मेलन ‘जुम्ला घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिवार विहान उद्घाटन गरिएको थियो । नेपालमै पहिलोपटक जुम्लामा बैशाख २२ गते ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रर्वतन तथा सहकार्य’ नारासहित सम्मेलन सुरु भएको थियो
दुईदिनसम्म सञ्चालन भएको सम्मेलनमा मानसिक रोगसम्बन्धी करिब ५० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको कर्णाली जस्तो दुर्गम क्षेत्रमा अझै मानसिक स्वास्थ्यको आबश्यक चेतना पुग्न नसकेकोले व्यापक मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान विस्तार गर्नुपर्नेमा जोढ दिदै सम्मेलनले जुम्ला घोषणापत्र जारी गरेको छ ।

मानसिक स्वास्थ्य समस्याको ठूलो खाडल र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभावलाई पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्यको खाँचोका साथ सम्मेलनको आयोजना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए ।

जुम्लामा घोषणापत्रमा नेपालमा सामुदायिक मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरूले समुदायमा विद्यमान सेवाहरूलाई सुदृढ गर्न र नेपालमा सबैको लागि मानसिक स्वास्थ्यको एजेन्डामा योगदान पु¥याउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।

सम्मेलनका साझेदार संस्थाहरूले कर्णाली प्रदेशका सबैका लागि मानसिक स्वास्थ्य प्राप्त गर्नका लागि केएचएसको मनोचिकित्सा विभाग, प्रादेशिक अस्पताल र प्रादेशिक÷स्थानीय सरकारहरूलाई काम गर्ने अवसरहरू खोज्ने जनाइएको छ ।

सम्मेलन समापनको क्रममा बोल्दै अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीका सहायक प्रध्यापक डाक्टर श्रीधर पौडेलले कर्णाली क्षेत्रको मानसिक स्वास्थ्यमा रहेको समस्या समाधानको लागि काम गरिने बताए ।

उनले पहिलोपटक सञ्चलन गरिएको सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी वर्षपनि सम्मेलन सञ्चालन गरिनेछ । आगामी वर्षमा प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिने पौडेलको भनाइ छ ।

उनका अनुसार सम्मेलनले कर्णालीको मानसिक स्वास्थ्य सम्बन्धि देखिएको समस्या समाधानमा भूमिका खेल्नेछ । सम्मेलनमा दुई सय बढीको सहभागिता रहेको थियो । दोस्रो अन्तराष्ट्यि सम्मेलन आगामी वर्ष पनि हुने भएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस