जुम्ला । प्रथम प्रदेश स्तरिय रारा कप कबड्डी प्रतियोगिताको उपाधी सुर्खेत जिल्लाले जितेको छ । नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य मुगुको रारामा आयोजित प्रथम प्रदेशस्तरीय रारा कप खुल्ला महिला पुरुष कबड्डी प्रतियोगिताको दुबै उपाधी सुर्खेतले जितेको हो ।
कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारा किनारमा संचालन भएको उक्त प्रतियोगितामा पुरुषतर्फ दैलेखलाई हराउदै महिलातर्फ सल्यानलाई हराउँदै सुर्खेत महिला पुरुष दुबै प्रतियोगिताको उपाधी जित्न सफल भएको कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ ।
प्रतियोगिताको फाईनलमा पुरुषतर्फ सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ अंकमात्र प्राप्त गरी उप बिजेता भएको छ । भने,महिलातर्फ सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक मात्र प्राप्त गरी उप बिजेता बनेको हो । नक आउट विधिबाट खेलाइएको खेलमा पुरुषतर्फ तृतीय जाजरकोट र सल्यान भएका छन् । भने, महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भएका छन् । उक्त प्रतियोगितामा पुरुष टिमतर्फ हुम्ला बाहेक कर्णाली प्रदेशका अन्य ९ जिल्लाको सहभागिता रहेको थियो । महिला टिमतर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका अन्य ७ जिल्लाको सहभागिता रहेको थियो ।
प्रतियोगिता सम्पन्न गर्नको लागि हरेक तवरबाट सहयोग गर्ने निकायालाई आयोजनाकले धन्यबाद दिएको छ । भौगोलिक रुपमा विकट तथा स्रोत साधन अभावका बीच पनि रारा तालको प्रर्बद्धनका लागि रारामा प्रतियोगिता संचालन गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति जुम्लालाई विशेष धन्यबाद समेत प्रदान गरिएको छ ।



