जुम्ला । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाको पूर्वाधार विकास सुस्त देखिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ म विनियोजित योजना निर्माणमा चन्दननाथ सुस्त देखिएको हो । चालु आर्थिक वर्षमा कुल १५६ वटा योजना रहेकोमा हालसम्म एउटा योजनामात्रै निर्माण भएर अन्तिम भुक्तानी भएको छ ।
भने आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा विनियोजन गरेका १५५ योजना अझै निर्माणधिन अबस्थामा रहेका छन् । शुक्रबार आयोजित चन्दननाथ नगरपालिकाको सार्वजानिक सुनुवाईमा प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले अर्धवार्षिक आर्थिक तथा भौतिक प्रगती विवरण प्रस्तुत गरेका थिए ।
प्रगती विवरणनुसार १० वटा वडा रहेको नगरपाालिकामा चालु आवमा पुँजीगत तर्फ विनियोजित कुल बजेटको हाल सम्म ११ प्रतिशत मात्रै विकास खर्च भएको पाइएको छ । भने चालु तर्फ विनियोजित कुल बजेटको करिब ५५ प्रतिशत खर्च भएको प्रगती विवरणमा उल्लेख छ ।
कुल ६३ करोड ५२ लाख १७ हजार बजेट मध्य नगरपालिकामा ३७ करोड ११ लाख ८६ हजार ४ सय ९८ रुपैयाँ ९३ पैशा प्राप्त भएकोमा हाल सम्म २३ करोड ५२ लाख ६९ हजार खर्च भएको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिए । उनका अनुसार कुल विनियोजित बजेटको अझै २६ करोड ४० लाख २० हजार ६ सय ४२ रुपैयाँ खर्च हुन बाँकी रहेको रहेको छ ।
चन्दननाथमा ५ लाख भन्दा मुनिका १०३, १० लाख भन्दा मुनिका २२, २० लाख भन्दा मुनिका २० वटा ५० लाख भन्दा मुनिका ५ वटा १ करोड भन्दा मुनिका १ र १ करोड माथिका १ वटा गरी कुल १५६ वटा योजना रहेका छन् । जसको निर्माण कार्य दुर्त गतिमा हुन सकेको छैन् । हालसम्म एउटा योजनाको मात्रै अन्तिम भुक्तानी हुनुले पूर्वाधार विकासमा चन्दननाथले गति लिन नसकेको स्पष्ट हुन्छ ।
यदपी,प्राविधिक शाखा चण्डीका चौलागाईले,काम भईसकेका अनुगमन हुन बाँकी धेरै योजना रहेकोले पुँजीखर्च खर्च न्युन देखिएको दाबी गरिन् । उनले भनिन,‘सबै योजनाहरु अन्तिम चरणमा रहेका छन् । निर्माण कार्य धमाधम भईरहेको छ । एक दर्जनबढी योजनाको अन्तिम अनुगमन हुदैँ छ । प्रायः ५ लाख भन्दामुनिका योजना रहेकोले जेठ भित्रै सबै योजना निर्माण गर्छौ ।’
यसैबीच चन्दननाथले ६ महिनामा एक करोड राजश्व संकलनको लक्ष्य राखेपनि ९३ लाख संकलन गरेको छ । भने १० लाख सम्म पुँजी भएका उदोग स्थानीयतहमै दर्ता गर्ने प्रावधानपछि नगरपालिकामा २५ वटा उद्योग दर्ता भएका छन् । अनुदान खाएर काम नगर्ने वाणिज्य तर्फका ८८ वटा उद्योग खारेज गरिएको छ ।
चन्दननाथ नगरपालिका मेयर राजु सिंह कठायतले चन्दननाथ नगरपालिकालाई सुन्दर र सफा नगर बनाउन करिब ६० करोडको परियोजना संचालन गर्न लागिएको बताए । ठुला पूर्वाधार विकासका आयोजनामा नगरले प्रथामिकता दिएको उनको भनाई छ ।
उपमेयर रामदेवी खड्काले महिला शसक्तिकरण,सफा नगर ठुला आयोजना संचालनमा प्रथामिकता रहेको बताईन् । उनले भनिन,‘आफु निर्वाचित भएदेखिको कुनै सुविधा लिएको छैन् । घोषणा गरेनुसार सेवासुविधाको बजेट विपन्न महिलाको उद्यमशीलतामा खर्चिने छु । कार्यविधि अन्तिम अबस्थामा छ । विगतको भन्दा सेवा प्रवाह र विकासलाई गति दिने प्रयासमा छौ ।’



