जुम्लामा यान्त्रीक कार्यालय स्थापना, सडक अबरुद्ध हुँदा खेप्नुपर्ने सास्ती हट्ने आशा

जुम्ला । जुम्लामा हेवी ईक्युमेन्ट राख्ने यान्त्रीक कार्यालय स्थापना भएको छ । जुम्लामा सडक डिभिजन स्थापना भएको एक दशक भन्दा बढी समयपछि यान्त्रिक कार्यालय स्थापना भएको हो । यान्त्रिक कार्यालय हेवी इक्युमेन्ट राख्ने तथा सवारीको मर्मत गर्ने कार्यालय हो । बाढी पहिरो आएर सडक अबरुद्ध हुँदा यान्त्रिक कार्यालय भएको खण्डमा अबरुद्ध सडक खुलाउन छिटो छरितो हुन्छ । भने नागरिकले धेरै सास्ती पनि पाउदैनन् ।

जुम्लामा यसघि कागजी रुपमा मात्र यान्त्रिक कार्यालय थियो । जसका कारण विभिन्न पटक बाढी पहिरोले सडक अबरुद्ध हुँदा तीन हप्तौसम्म सडक अबरुद्ध भएको घटना पनि छन् । ०७९ को बेमौसमी वर्षापछि आएको बाढीले कर्णाली राजमार्ग ध्वष्त हुँदा करिब २१ दिन पूर्ण रुपमा बन्द भएको थियो ।

सबै सरोकारावाले तदारकता देखाएपनि हेवी इक्युमेन्ट नहुँदा सडक संचालनमा ढिलाई भएर नागरिकले सास्ती पाएका थिए । जुम्लामा सडक डिभिजन सहित यान्त्रीक कार्यालय राख्ने विषयमा सर्वपक्षिय छलपल तथा निर्णयहरु नभएका हैनन् । कतै जग्गाको टुंगो नलाग्नु,कतै मुआब्जा माख्नु लगातका कारणले यान्त्रीक कार्यालय स्थापनामा सकस भएको थियो ।

सडक डिभिजन जुम्लाले विपद्का समयमा सडक खुलाउन हेवी इक्युमेन्ट डिभिजन नेपालगन्जसंग सहकार्य गर्दै सडक खुलाउने काम गर्दै आएको छ । यी विभित समस्यालाई मध्यनजर गर्दै हेवी इक्युमेन्ट तथा जनशक्ति सहित जुम्लामा यान्त्रीक कार्यालय स्थापना गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए ।

उनले भने,‘जुम्लामा यान्त्रीक कार्यालय कागजमा मात्र सिमित थियो । कागजी यान्त्रीक कार्यालयले सडक अबरुद्ध हुँदा समयमै खोल्न कठिन थियो । हेवी इक्युमेन्ट डिभिजन कार्यालय नेपालगन्जलाई सहयोग माग्थ्यौ । अब केहि हेवी इक्युमेन्ट सहित यान्त्रीक कार्यालय संचालन हुने छ । यसले कर्णालीमा विपत्ती परेको बेला सडक अबरुद्ध हुँदा छिटो छरितो सडक सुचारु गर्न महत पुग्ने छ ।’

विभिन्न कारणले सडह अबरुद्ध हुँदा हेवी मेसिन अभावका करण यात्रुले खेप्नु पर्ने सास्ती अब हट्ने समेत आशा गरिएको छ ।
यान्त्रिक कार्यालय स्थापना कार्यक्रममा चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायत,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायत अन्य सरोकारवालाको सहभागिता थियो । भने जुम्लामा यान्त्री कार्यालय स्थापना तथा अनुगमन निरिक्षणका लागि सडक विभाग,हेवी ईक्युमेन्ट डिभिजन नेपालगन्ज,संघिय सडक सुपरिवेक्षण कार्यालयका प्रतिनिधिहरु समेत जुम्ला पुगेका छन् ।

मेयर राजु सिहं कठायतले भौगोलिक रुपमा विकट कर्णालीमा वर्खाको समयमा बाढी पहिरो तथा अघिपछि सुक्खा पहिरोले सडक अबरुद्ध भईरहने भएकोले यान्त्रीक कार्यालय स्थापनापछि सहज हुने बताए । अब सडक अबरुद्ध हुँदा सास्ती खेप्नु नपर्ने र छिटै सडक सडक सुचारु हुनेमा विश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कर्णालीको लाईफ लाईन मानिएका कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक लगायत अन्य सडक अबरुद्ध हुँदा तत्काल सडक खुलाई यात्रालाई सुचारु गर्न सहज हुने उल्लेख गरे ।
जुम्लामा सडक डिभिजन कार्यालय २०७१ सालमा स्थापना भएको हो । जुम्ला सहित मुगु र कालिकोट सडक डिभिजन जुम्लाको कार्यक्षेत्र हो ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस