जुम्ला । नेपाल सरकारले सामाजिक सुरक्षाभत्ता अनिर्वाय बैकिङ प्रणालीबाट लिनु पर्ने प्रावधान ल्याएपनि दुर्गम क्षेत्रका जेष्ठ नागरिक अशक्तहरुका लागि उपयुक्त छैन् । जुम्लाकाे हकमा दुर्गम भेरीखाेलाका जेष्ठ नागरिकलाई गाउँपालिका पुगेर भत्ता बुझेर घर फर्किन निकै सकस छ ।
आउन जानमै बढी खर्च हुने,बुढेसकालकाे शरिरले दुख पाउने जस्ता समस्याले दुर्गम भेरीखाेला क्षेत्रका जेष्ठनागरिक, अशक्त,अपांङ्गहरु गाउँमै भत्ता पाएकाे भए राहत हुने अपेक्षामा थिए ।
अझ भेरीखाेला क्षेत्रमै एउटा बैंक हुनु पर्ने पहिलैदेखिकाे माग छ । यदपी,गणस्तरीय संचारकाे विकास नहुँदा भेरीखाेला क्षेत्रमा बैंक स्थापना गर्ने पालिकाकाे याेजनाले पुर्णता पाएकाे छैन्।

तर दुर्गम भेरीखाेला क्षेत्रका जेष्ठनागरिककाे समस्या र मागलाई मध्यनजर गर्दै ताताेपानी गाउँपालिकाले घरदैलाेमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालेकाे छ ।
ताताेपानीकाे भेरीखाेला क्षेत्रमा पर्ने वडा नं.७ र ८ का ६८ वर्ष माथिका जेष्ठनागरिक र शारिरिक रुपमा अशक्त लाई घरदैलाेमै पुगेर तेस्राे किस्ताकाे सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेकाे हाे ।
घरदैलाेमै भत्ता वितरणका लागि ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाइ,उपाध्यक्ष रेवती रावल,प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायत,लेखापाल र ग्लाेबल बैंकका कर्मचारी सहितकाे टाेली भेरीखाेला क्षेत्रमा पुगेकाे छ ।
जसअन्तर्गत पहिलाे दिन साेमबार वडा नं.७ का ६८ वर्ष माथिका ३८ जना जेष्ठनागरिक र ६ जना अशक्त अपाङ्गगरी ४४ जनालाई गाउँमै पुगेर भत्ता वितरण गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए ।
भेरीखाेला भाैगाेलिक रुपले जुम्लाकै दुर्गम क्षेत्र हाे। पालिकाले हरेक सेवा र विकासमा भेरीखाेला लाई प्रथामिकता दिने गरेकाे छ ।
अध्यक्ष चाैलागाईले भने,’संचारकाे विकास अपेक्षित रुपमा नहुँदा तत्काल बैंक स्थापना गर्न सम्भव भएन् । भत्ता बुझ्न पालिका जाँदा आउँदा लाग्ने खर्च,जेष्ठनागरिकले पाएकाे सास्तीलाई मध्यनजर गर्दै गाउँमै पुगेर भत्ता वितरण गर्न थालेका हाै । यसले जेष्ठनागरिकले राहत महसुश गरेका छन् ।’
अनिवार्य बैकिङ प्रणालीबाट भत्ता बुझ्ने प्रावधान भएपनि भाैगाेलिक रुपमा विकट भेरीखाेला जस्ता क्षेत्रका नागरिकका लागि उपयुक्त नभएकाेले नागरिककाे चाहनानुसार गाउँमै पुगेर भत्ता वितरण गर्न थालिएकाे हाे।
संघियतापछि भत्ता बुझ्न पालिका धाएर सास्ती पाएका भेरीखाेलाका जेष्ठनागरिक गाउँमै भत्ता पाएपछि उत्साहित भएका छन् । धेरै जेष्ठनागरिककाे दैनिकी गुजारा चलाउने माध्यम बनेकाे भत्ता गाउँमै पाएपछि खुसी भएका हुन् ।
मंगलबार वडा नं .८ का जेष्ठनागरिक र अशक्त अपाङ्गलाई गाउँमै भत्ता बाड्न टाेली पुगिसकेकाे छ । गाउँमै भत्ता पाएपछि नागरिककले स्थानीय सरकारकाे अनुभूति समेत गरेका छन्।



