दुर्गम मानेचौरको शिविरमा ३०४ जनाको स्वास्थ्य परीक्षण

जुम्ला – तिला गाउँपालिका – ९ मानेचौरस्थित दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ३०४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तत्कालिन घोडेमहादेव र मालिकाठाटा गाविस (६, ७, ८ र ९ वडा) जुम्लाकै दुर्गम क्षेत्र हो । जुन क्षेत्र अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन । त्यो ठाउँमा हरेक सेवासुविधाको असुविधा रहेको छ । यस्तै पटक पटक गरिने शिविरमार्फत त्यहाँका नागरिकले सेवा लिने गरेका छन् ।
तिला गाउँपालिका जुम्लाले दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्नका लागि जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । दुर्गम भेगका महिलालाई स्त्रीरोग सम्बन्धि सेवा दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् । उनका अनुसार जेठ ४ र ५ गते दुई दिन शिविर सञ्चालन गरिएको हो ।

तिला गाउँपालिका स्वास्थ्य शाखा खोप फोकल पर्सन उत्तम देवकोटाका अनुसार ‘शिविरबाट स्त्रीरोग सम्बन्धि सेवा उपलब्ध गराउने उद्देश्य भए पनि हाडजोर्नी तथा नशा सम्बन्धि सेवासहित अन्य सेवा पनि प्रदान गरिएको छ ।
उनले भने दुई दिने शिविरमा ३०४ जनाको स्वास्थ्य परिक्षण गरिएको थियोे छ । ९ जना महिलाको पाठेघरमा रिङ राखिएको छ । त्यस्तै तीन जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको छ । शिविरबाट २१ जनाले हाडजोर्नी तथा नशा सम्बन्धि सेवा प्राप्त गरेका छन् । ११५ जनाले अन्य सेवा लिएका छन् ।

स्त्रीरोग सम्बन्धि सेवा लिन आएका १६८ जना महिला मध्ये ९० जनाको पाठेघर (भिआईए) समेत परीक्षण गरिएको खोप फोकल पर्सन देवकोटाले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस