जुम्ला – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्जुनबहादुर श्रेष्ठको टोलीले प्लान नेपाल र पेस नेपालको साँझेदारीमाद्धारा संचालित आधार परियोजना अन्र्तगत निर्माण भएका भौतिक संरचना स्कूलका भवन अनुगमन गरेको छ ।
कार्यान्वयनको अवस्था, परियोजनाले गरेका असल अभ्यास र व्यवस्थापनको वारेमा मन्त्रालयका उपसचिव श्रेष्ठ, अधिकृत राजेश्वर पराजुली,ै प्लान नेपालका परियोजना विषेशज्ञ दिपेन्द्रसिंह सामन्त, कार्यक्रम संयोजक हरीकला लम्सालको टोलीले शिक्षा क्षेत्रमा भएको कार्य प्रगतिको समिक्षासहित अनुगमन गरेको हो ।
परियोजना सञ्चालन भएका सिजा, हिमा र कनकासुन्दरी गाउँपालिकामा सरोकारवाला, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र शिक्षक संघ बीच अन्तरक्रियात्मक अनुगमन भएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।

परियोजनाले गरेका गतिविधि उपलव्धीमुलक रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव श्रेष्ठले बताए । उनले भने, परियोजनाले गरेका काम दिगो व्यवस्थापन र संस्थागत हुने छ । गतिविधि संयुक्त साँझेदारीमा काम गरिएको हुनाले परियोजनाको दिगो र स्थानीय सरकारको अपनत्व लिनेमा विश्वास रहेको छ ।
पेस नेपाल र प्लान नेपालको साँझेदारीमा सञ्चालित आधार परियोजनाले बालबालिकाको शिक्ष्ाँमा गुणस्तर सुधार ल्याउनुका साथै भौतिक संरचना अभाव भएका विद्यालयमा भवन निर्माण गर्दै आएको छ ।
हिमा गाउँपालिका – ३ जोगीवाडास्थित भैरव आधारभुत विद्यालयमा चार कोठे भवन, ३ कोठे शौचालय र ६ ओटा धारा निर्माण गरिएको छ । यसै गरी सोही गाउँपालिका– ४ माथिल्ला कुडुस्थित महादेव आधारभुत विद्यालयमा ४ कोठे भवन, शौचालय र हात धुने स्थान निर्माण गरिएको छ । कनकासुन्दरी गाउँपालिका –४ लेकपोरस्थित भैलेपाटा आधारभुत विद्यालयमा २ कोठे दुई ब्लक विद्यालय भवन निर्माण गरिएको छ । यसै गरी सोही गाउँपालिका – ६ गोरुचौरस्थित श्रीआधारभुत विद्यालयमा ४ कोठे भवन, ३ कोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थान निर्माण गरेको छ ।
सिंजा गाउँपालिका – ६ स्थित जोडु माध्यामिक विद्यालयको ४ कोठे भवन, शौचालय र हातधुने धारा निर्माण गरेको पेस नेपाल जुम्लाले जनाएको छ ।



