जुम्ला । जुम्लाका आठ आठ वटा स्थानीयतहकाे आव २०८०÷८१ मा ३७ करोडबढी बेरुजु रकम देखिएको छ । महालेखा परिक्षको कार्यालयको ६१ औँ प्रतिवेदन अनुसार जुम्लाका आठ पालिकाको कुल ३७ करोड ९८ लाख ३४ हजार रुपैया बेरुजु देखिएको हो ।
जसमा सबैभन्दा बढी बेरुजु रकम चन्दननाथ नगरपालिकाको ९ करोड ४० लाख ४१ हजार देखिएको छ । भने, सबैन्दा कम बेरुजु रकम तातोपानी गाउँपालिकाको एक करोड ५४ लाख ७६ हजार रहेको छ ।
साथै सबैभन्दा कम बेरुजु हुने दोस्रो पालिकामा यहाँको हिमा गाउँपालिका रहेको छ । जसमा हिमाको २ करोड ६७ लाख १२ हजार बेरुजु रकम रहेको छ ।
त्यस्तै,कनकासुन्दरी गाउँपालिकाको ६ करोड २५ लाख ३२ हजार,गुठिचौर गाउँपालिकाको ५ करोड २१ लाख ४४ हजार,तिला गाउँपालिकाको ३ करोड ५६ लाख ३९ हजार,पातारासी गाउँपालिकाको ३ करोड ९५ लाख ७४ हजार र सिंजा गाउँपालिकाको ५ करोड ३७ लाख ७४ हजार रकम बेरुजु देखिएको छ ।
यता हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले आगामी आवमा हिमाको शुन्य बेरुजु हुने गरी काम गर्ने बताए । उनले भने,‘यो वर्षको दुई करोड बेरुजु आउनुमा अनियमितता नभई प्रक्रियागत कारणले भएको हो ।पालिकाका शिक्षकभरीको तलब खुवाएको रकमको लेखा परिक्षण गर्न ढिलाई भयो । जसका कारण बेरुजु देखाएको छ। तर आगामी आवमा हिमाले आर्थिक सुशासनमा विशेष जोड दिने छ ।’



