जुम्ला – सिंजा गाउँपालिकामा बालविवाह अन्त्यका लागि पञ्चबर्षीय रणनीति कार्यशाला सम्पन गरिएको छ । मंगलबार सिंजा गाउँपालिका उपाध्याक्ष सितली रोकायाको अध्यक्षतामा र पालिकास्थित सरोकावालाको सहभागितामा सुरु गरिएको कार्यशाला सम्पन्न भएको हो ।
विकास साँझेदार संस्थाहरु बालविवाह विरुद्धको साझा अभियान जिल्ला सञ्जाल जुम्ला, प्लान इन्टरनेशनल नेपाल, पेस नेपालको सहयोगमा कार्याशाला सम्पन्न गरिएको छ । कार्याशालामा बालविवाह अन्त्य गर्न पञ्चबर्षीय रणनीति योजनाको मस्यौदामा बृहत छलफल भएको छ ।
समुदायमा ठुलो समस्याको रुपमा रहेको बालविवाह अन्त्य गरी वडा र पालिकालाई बालविवाह मुक्त गर्न केही कानुनी जटिलतालाई मध्येनजर गरी साँझेदार संस्थाहरुको सहयोमा बालबाल विवाह अन्त्य गर्न पञ्चबर्षीय रणनीतिक योजना निर्माण तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । यस कार्यशालाको मुख्य सहजिकरण रमा भण्डारी र सह सहजिकरण पेस नेपाल जुम्लाका कार्यक्रम प्रमुख हेमराज भट्टले गरेका थिए ।
बालविवाहले बालबालिकाको जीवनमा बहुपक्षिय असर गरिरहेको सन्र्दभमा बालविवाह अन्त्य गर्नको लागि सिंजा गांउपालिकामा पञ्चवर्षीय रणनीति निमार्ण गरेर कार्यान्वयन तर्फ अग्रसर हुने प्रतिवद्धताको साथ यस पालिकामा कार्यरत विकासका साझेदार संस्थाहरुको सहयोगमा दुई दिने कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा बालविवाह न्यूनिकरणको लागि रणनीतिको खाका सम्बन्धमा छलफल गरिएको हो । कार्यशालाले आर्थिक वर्ष २०८५÷८६ सम्म बालविवाह न्यूनिकरण गर्नको लागि सवल पक्ष, अवसर पक्ष, कमजोर पक्ष र चुनौती सम्बन्धमा वृहत छलफल गरिएको थियो । साथै गोष्ठीले बालविवाह न्यूनिकरणको रणनीतिक उद्देश्य निर्माण गर्नुको साथै आगामी कार्यक्रमहरु कस्तो राख्ने भन्ने सम्बन्धमा वृहत छलफल गरेका छन् ।
गाउँपालिका प्रशासकीय प्रमुख पवित्रा शाहीले रणनीतिक योजनालाई कानुनी प्रक्रिया पुरा गर्न र कार्यान्वयनको लागि वार्षिक वजेट विनियोजनको सम्बन्धमा जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले यो रणनीतिक योजना कार्यान्वयनले नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने प्रतिवद्धतालाई सहयोग गर्दछ ।
सहजकर्ता रमा भण्डारीले बालविवाह अन्त्य गर्नु मानविय विकासको पक्षमा एउटा युद्ध जित्नु हो । यसले बालबालिकाको जीवनमा सर्वोत्तम हित प्राप्त गर्दछ । अधिकार सुनिश्चित गर्न बालमैत्री वातावरणको सृजना गर्दछ, उनले भनिन् ।
बालविवाह न्यूनिकरणका लागि बाल संरक्षणका संयन्त्रको निमार्ण र सर्वपक्षिय भूमिकालाई अभिवृद्धि गरी क्रियाशिल बनाउन आवश्यक रहेको कुरामा उनले जोड दिइन् ।



