
जुम्ला । जुम्लाका किसानलाई मार्सीधान रोप्ने चटारो सुरु भएको छ । जुम्लाका सिंजा,पानसय तथा चौधिबीस क्षेत्रमा किसानलाई धान रोप्ने चटारो लागेको हो । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा धान रापेपछि जुम्लामा धान रोप्न सुरु भएको थियो । यदपी,यहाँको गुठिचौर गाउँपालिका क्षेत्रमा भने धान रोपाई अन्तिम चरणमा पुगेको छ ।
जुम्लामै पहिलो मार्सिधान खेती सुरु भएको लाछु ज्युलोमा भने अझै धान रोपाई सुरु भएको छैन् । जुम्ला तातोपानी गाउँपालिकामा अबस्थित लाछु ज्युलोमा सिंचाई अभावले धान रोपाईमा ढिला भएको हो ।
बाढिले सिँचाई कुलो बगाएपछि रोपाईमा ढिलाई भएको किसान बताउँछन् । जुम्लामा पहिलो पटक धान रोपिएको खेतलाई ’गुरुफोक्टो’ भनिन्छ । घना जंगल रहेको उक्त क्षेत्रमा लछालकृति पैकलाले धानखेती सुरु गरेपछि बिस्तारै जंगल मार्सीफाँट बनेको तातोपानी गाउँपालिका वडा नं २ का स्थानीय अगुवा धन बहादुर बुढा बताउँछन् ।
उनले भने,‘जिल्लाभर रोपाईको चटारो लागेको छ । तर लाछु ज्युलोका खेत अझै सुक्खै छन् । ०८९ सालको बेमौसमी बाढीले ज्युलाको आधी भाग बालुवा र टापुमा परिणत भएको छ । सिँचाई पुराएर धान रोप्ने तयारी छ ।’
त्यस्तै तातोपानी–२ कै जर्मी,डाँगीबाडा र सुन्दरगाउँका किसानले रोप्दै आएको ज्युलोमा भने अझै धान रोपाई सुरु भएको छैन् । त्यहाको कुलो पनि विभिन्न ठाउँमा भत्कीएकोले किसान कुलो पुर्निनिर्माणमा जुटेका छन् ।
राष्ट्यि तथा अन्तराष्ट्यि बजारमा माग बढ्दै गएको जुम्ली मार्सीधानको खेती भने बढेको छैन् । विभिन्न प्राकृतिक विपत्ती मार्सीखेतीमा गिरावट ल्याएको छ । भने उत्पादन पनि क्रमिक घट्दै गएको छ ।
कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लाको कुल २९ सय हेक्टर क्षेत्रफलमा धानखेती भईरहेको छ । १४ सय हेक्टरमा स्थानीय जातको मार्सीधान खेती भईरहेको छ । भने बाँकी क्षेत्रमा उन्नत जातको धान खेती भईरहेको हो ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा मार्सीधानको उत्पादन बृद्दि र संरक्षणका लागि कार्यालयले विभिन्न काम गरिरहेको बताए । किसानलाई उन्नत बीउ मल,विषादी प्रयोगमा निरुत्साहित गर्न जनचेतना अभिबृद्दिको काम गरिरहेको उनको भनाई छ ।
जुम्लामा थोरै मेहनत गरेर उत्पादन बढाउने लोभमा लुकिछिपि ब्युटाक्लोर प्रयोग गर्नाले क्षणिक उत्पादन बढेपनि दिर्घकालिन असर परेको छ । स्थानीय सरकार,कृषि विकास कार्यालयले ब्युटाक्लोर प्रयोगमा रोक लगाएका छन् ।
असिना पानी संगै बेला बेला जुम्लाको मार्सीधानमा लाग्ने विभिन्न खाले रोगको प्रकोपले उत्पादन मात्र घटेको छैन् । माटोको उर्वरा शक्ति समेत घट्दै गएको छ ।