यूवालाई उत्पादनसंग जोड्न नीति बनाउदैँ तातोपानी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले यूवा रोजगार बृद्धिका लागि नीति बनाउने भएको छ । बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै उत्पादन,उद्यमशीलता,पर्यटन,कृषि तथा विकास क्षेत्रसंग यूवालाई जोडेर रोजगारी बृद्धि गर्न तातोपानीले यूवा रोजगार नीति बनाउने भएको हो ।

जिल्लामै पहिलो रोजगार संवाद मञ्च गठन गरेको तातोपानीले स्थानीय यूवालाई रोजगार संग जोड्न प्रक्रिया थालेको छ । तातोपानी गाउँपालिकामा गत आवमा २२ सय र चालु आवमा १६ सय यूवा बेरोजगारका रुपमा सूचिकृत भएका छन् । सूचिकृत भएका मध्य अधिकांश यूवाले रोजगारी पाएका छैनन् । प्रधानमन्त्री रोजगारको काम बाटो घाटो बनाउने बाहेक अरु हुन सकेको छैन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत सुचिकृत बेरोजगार काम विहिन यूवालाई रोजगारी प्रदान गर्न छुटै नीतिनै बनाईने तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । सुचिकृत यूवालाई बाटोघाटो बनाउने मात्र नभई उत्पादनशील क्षेत्रमा जोडेर जीविकोपार्जनमा सुधार ल्याउने खालको यूवा रोजगार नीति बनाईने उनको भनाई छ ।

उनले भने,‘आगामी नीति तथा कार्यक्रम बनाउने बेला भएको छ । हाम्रो मुख्य समस्या नै बेरोजगारी भएकाले बेरोजगारी घटाउन उत्पादनमुखी तथा युवामैत्री नीति निर्माणमा जोड दिन जरुरी छ । स्थानीयस्तरमा पाइने स्रोत साधनको अधिकतम प्रयोग गरी रोजगारी सृजना गर्ने, उत्पादन वृद्धि तथा बजारीकरणमा वृद्धिमा पालिकाको प्राथमिकता छ ।’

मंगलबार तातोपानीमा आयोजित रोजगार संवाद मन्चको गोष्ठीमा सहभागी नागरिक अगुवा,उद्यमी,व्यवसायीले रोजगारी बृद्धिका लागि उद्यमशीलता, प्रविधि, हातेहोजियारी, सिलाइकटाइ, इलेक्ट्रोनिक व्यवसाय, कृषि उत्पादन, पर्यटन प्रवद्र्धन विकास निर्माणलगायतका विभिन्न क्षेत्रसँग बेरोजगार युवालाई जोडेर आयआर्जन वृद्धि गर्ने खालको ठोस नीति बनाउन सुझाब दिए ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले पालिकाबाट हुने हरेक विकास निर्माणका काममा अनिवार्य सुचिकृत यूवाको सहभागिता हुने खालको नीति बनाउनु पर्ने बताए । साथै उत्पादनशील क्षेत्र संग जोडेर यूवालाई सिप र प्रविधि दिनुपर्नेमा समेत जोड दिए ।

रोजगार संयोजक सरिता शर्माले तातोपानीमा बेरोजगारीको स्थिति, रोजगारी सृजनाका आधार, सम्भवाना पहिचान सहितको स्थानीय रोजगार नीति निर्माणलाई अघि बढाउन सबैको सुझाब आबश्यक रहेको बताईन् ।

स्रोत अभावका कारण सुचिकृत भएका सबै यूवालाई रोजगार संग जोड्न नसकिएकोले पालिकाका अन्य विकासे काम र उत्पादनशील क्षेत्रमा बेरोजगार यूवालाई प्रथामिकता दिनु पर्ने उनको भनाइ छ ।

तातोपानीका ८ वटै वडाका सुचिकृत यूवाको सुचि तयार गरी दक्ष तथा अर्धदक्ष छुटाएर राख्ने र आबश्यकताको आधार कामदार चाहिएमा समेत सुचिकृत यूवालाई पठाउन सकिने गरी व्यवस्थापन गरिने रोजगार संयोजक शर्माले उल्लेख गरिन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस