जुम्ला । तिला गाउँपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ । जुम्लाका ६० वटा वडामध्य जिल्लाकै पहिलो वडाका रुपमा तिला गाउँपालिका वडा नंं. ६ बालमैत्री वडा घोषणा भएको हो ।
शुक्रबार एक भव्य कार्यक्रमका बीच तिला–६ लाई बालमैत्री वडा घोषणा भएको हो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य र तिलाका अध्यक्ष मोतिलाल रोकायाले संयुक्त रूपमा वडालाई बालमैत्री घोषणा गरे ।
बालमैत्री स्थानीय शासन ऐनले तोकेको ५१ वटा सूचक पूरा भएपछि तिला ६ लाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ ।
किर्डाक नेपाल र वल्डभिजन इन्टरनेशनल नेपालले सूचक पूरा गरी बालमैत्री वडा घोषणाका लागि प्राविधिक सहयोग गरेका छन् । वडाकै अगुवाई,दातृसंस्थाको सहयोग तथा पालिकाको समन्वय र स्थानीयहरुको सक्रियामा तिला ६ पहिलो बालमैत्री वडा बन्ने सफल भएको हो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बालमैत्री घोषणा सुखद भएपनि कार्यान्वयनमा चुनौती रहेकोले स्थानीय सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले बाल समृद्धिको शंख तिलाबाट बजेको उल्लेख गरे ।
बालबालिकाको क्षेत्रमा तिलाले गरेको काम अन्य स्थानीयतहले अनुसरणयोग्य रहेको उनको भनाई छ । प्राय कार्यान्वयनपछि हरेक कार्यक्रम फितलो हुने परिपाटी भएकोले बालमैत्री वडा घोषणा कार्यान्वयन शत प्रतिशत हुने विश्वास व्यक्त गरे ।
त्यस्तै तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बालबालिका सवालमा संवेदनशील हुदैँ सबै सुचक पुरा गरेर बालमैत्री वडा घोषणा गर्न सफल भएको बताए । उनले भने,‘हामी बालबालिकाको हरेक मुद्धामा गम्भीर छौ । बालबालिकाको विकास बिना भौतिक विकासको अर्थ छैन् भन्ने हाम्रो मान्यता छ । त्यसैले विभिन्न नीति रणनीति कार्यविधिले निदिष्ट गरेका मापदण्ड पुरा गरी अघि बढेका छौ । घोषणाको कार्यान्वयनमा पनि गम्भीर भएर लाग्छौ ।’
साथै वडालाई बालमैत्री घोषणा गर्न जनचेतनादेखि प्राविधिक पक्षबाट सहयोग गर्ने किर्डाक नेपाललाई अध्यक्ष रोकायाले धन्यबाद समेत दिएका छन् । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेको सुचकका अधारमा बालमैत्री वडा घोषणा गरिएको हो ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले पहिलो बालमैत्री वडा घोषणा हुनु संघियतापछि पनि ओझेलमा परेको बालबालिकाको सवालमा तिलाले गम्भीरताका साथ काम गरेको फल प्राप्त भएको बताईन् । उनले भनिन,‘पालिकाले बालबालिका केन्द्रित ठोस योजना बनाइर लगानी गर्छ । बालबालिकाको विकासमा हामी पछि हट्दैनौ ।’
प्रमुख प्रशासकीय अधिकृत टेकवहादुर बुढथापाले वडाले गरेको अथक प्रयासले वडालाई बालमैत्री घोषणा गर्न सफल भएको बताए । सरकारको बालश्रम मुक्त मुलुकको परिकल्पनानुसार तिलाले काम गरीरहेको उल्लेख गरे ।
तिला ६ मा रहेका घोडे, सुडि र रिपि गाउँका १८५ घरधुरिका बालबालिकको समृद्धि र बालबालिका माथि हुने सबैखाले हिंसा शोषण अन्त्य भएको सन्देश दिन वडालाई बालमैत्री घोषणा गरिएको तिला ६ का वडाध्यक्ष जंग रोकायाले बताए ।
किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले मुलुकको दक्ष सक्षम जनशक्ति उत्पादनका लागि बाल्य अबस्थामा लगानी गर्नुपर्ने बताईन् । किर्डाकले लामो समयदेखि बालबालिकाका क्षेधमा उल्लेखीय काम गर्दै आएको उनको भनाई छ ।
पहिलो वडाका रुपमा बालमैत्री घोषणा हुनु जुम्लाको लागि ऐतिहासिक दिन भएकोले घोषणाको कार्यान्वयन र किर्डाकले गरेका असल अभ्यासलाई निरन्तरता दिन र संरक्षण गर्नमा पालिकाले ध्यान दिनुपर्नेमा जोड दिईन् । बालबालिकाका लागि घर पहिलोपाठशाला भएकोले घरबाटै बालश्रम हुनु पर्ने उनको भनाई छ ।

तिलाकी निवर्तमान उपाध्यक्ष विष्णु बुढाले तिलाबाट नयाँ कामको सुरूवात हुने गरेको बताईन् । आफ्नो कार्यकालमा गर्भवतिसँग उपाध्यक्ष कार्यक्रम संचालन गरी नयाँ कामको सुरूवात भएको उनको भनाइ छ ।
किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतले सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्वता अनुसार बालमैत्री वडा घोषणा गरिएको बताए । २०८७ सम्म नेपाललाई बालमैत्री घोषणा गर्ने सरकारले लक्ष्यअनुसार पालिकासंग सम्नवय गरी किर्डाकले बालमैत्री वडा घोषणाका लागि काम गरेको उनको भनाई छ ।
वल्डभिजन ईन्टरनेशनल नेपाल जुम्लाका प्रतिनिधि भेषवहादुर रावलले बालमैत्रि वडा घोषणा कार्यक्रमले जिल्लामा सुखद सन्देश दिएको बताए । अब तिलाले जिल्लाकै पहिलो बालमैत्री पालिका घोषणा गर्ने योजना अघि बढाउन अपिल गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बालमैत्री घोषणा हुनु एक एतिहासिक दिन हुनुका साथै अन्य वडाहरुले पनि सिक्नु पर्ने काम भएको बताएका छन् । अझै पालिकाहरु बालबालिका प्रति संवेदनशील हुन नसकेको भन्दै नीतिगत रुपमा बालबालिकाका सवालहरु प्रथामिकतामा राख्नु पर्नेमा उनिहरुको जोड थियो । बालमैत्री घोषणाका ५१ वटा सूचकमा ८४ प्रतिशत प्रगती भएको पाइएपछि औपचारिक रुपमा वडालाई बालमैत्री घोषणा गरिएको हो ।



