औद्योगिक ग्राम सञ्चालन गर्न रातेखोलामा बहस

लगानीमैत्री वातावरण बनाउन अपिल

जुम्ला – तातोपानी गाउँपालिका–४ गिडिखोलाको रातेखोलामा औधोगिक ग्राममा लगानीमैत्री वातावरण बनाउन सफल उद्यमी रामकृष्ण चौलागाई माग गरेका छन् । उनले औद्योगिक ग्राम निर्माण सम्वन्धी प्रराम्भिक वातावरण परिक्षण अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाई तथा बहस कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले यस औद्योगिक ग्राममा लगानी गर्ने वातावरण बनेपछि पानी उद्योग सञ्चालन गर्ने बताएका छन् । उनले भने जुम्लाका खोलानालामा पानी बगिरहेका छन् । तर अहिले पानीका बोतल, जार बाहिर जिल्लाबाट आउने गर्दछन् । हाम्रो पैसा बाहिर जिल्ला गई रहेको छ । यो राम्रो पक्ष होइन ।
औद्योगिक ग्राममा आवश्यक भौतिक संरचना, सडक, विजुली, पानी, उद्योग श्रमिकका बालबालिका पठनपाठन गर्न मिल्ने मन्टेश्वरी स्कूलसहितको व्यवस्थापन हुनु पर्दछ । जसका कारण औद्योगिक ग्राम सञ्चालन गर्न सहज हुने उनले बताए । उनले भने, सुरुमा औद्योगिक ग्राममा केकस्ता उद्योग सञ्चालन गर्ने हो । तिनै उद्योग सुचिकृत गरेर सोही अनुसार भौतिक संरचना निर्माण गर्नु पर्दछ ।
सामाजिक अभियान्ता धनबहादुर गौतमले औद्योगिक ग्राम निर्माण सम्वन्धी प्रराम्भिक वातावरण परिक्षण अध्ययन प्रतिवेदनमाथि टिप्पणी गरेका छन् । उनले भने प्रतिवेदनमा धेरैजसो असारका बढी गरिएको देखिन्छ । वातावरण असर पनि कसरी कम गर्न सकिन्छ भन्ने उपाया खोजिएको छैन । यस औद्योगिक ग्रामबाट के कति प्रतिशतमा लाभ लिन सकिन्छ भन्ने कुरा पनि खुलाएको भए राम्रो हुने थियो ।
औधोगिक ग्रामको पहिलो चरण एक करोड ७० लाख लागतको घेराबार निर्माण भईसकेको छ । भ्याट सहित एक करोड ७० लाख लागतमा मेसिनरिवाल र घेराबार निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले बताए ।
देशभर ८ वटा औद्योगिक ग्राम मध्ये जुम्लाको पनि एउटा औद्योगिक ग्राम हो । स्थानीय कच्चा पदार्थ उद्योगमा प्रयोग हुने गरी औद्योगिक ग्राम सञ्चालन गर्न थालिएको वडाध्यक्ष अमर बहादुर रोकायाले बताए ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार यो औद्योगिक ग्राम सञ्चालन गर्नका लागि जिल्लाभरका सरोकारवाला निकायको राय सल्लाह सुझाव लिन खोजिएको हो । उनले भने यसमा सवैको हातेमालो सहयोग गर्न आवश्यक छ । सहयोग अपेक्षा गरिएको छ ।
नागरिकको समृद्धिका लागि यस्ता औद्योगिक ग्राम सञ्चालन हुने पर्ने संंविधान सभा सदस्य तथा पुर्वराज्यमन्त्री गोमा गौतमले बताइन् । यसमा सवैले सहयोग समर्थन गर्न आवश्यकता रहेको छ । उनले भनिन् यसबाट स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीदेखि अन्य कच्चा पदार्थको पनि संरक्षण हुन्छ । उद्योग सञ्चालन भएपछि नागरिकले कच्चा पदार्थ उत्पादनमा पनि चासो हुन्छन् ।
रातेखोलामा रहेको करिब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफल सार्वजनिक जग्गा औधोगिक ग्राम निर्माण भईरहेको छ । स्थानीय स्रोत साधन, सीप, पुँजीको अधिकतम प्रयोग परिचालन रोजगारी सृजना गर्न कृषि तथा वन पैदावारसँग सम्बन्धित साना उद्योग स्थापना गर्ने डिपिआरमा उल्लेख छ ।
स्थानीय राडीपाखी, आरन, काष्ठकलाजस्ता, व्यवसायिक स्याउ तथा ओखर खेती लगायतका परम्परागत उद्योग तथा खेती औद्योगिक ग्राममा सञ्चालन हुनेछन् । औद्योगिक ग्राम निर्माण गर्न १५ करोड बजेट लागत रहेको छ ।
डिपिआर अनुसार औधोगिक ग्राामा जडिबुटी, फलफूल, पानी, ग्यामिन, काष्ठकला तथा साना उद्योग सञ्चालन गरिने उल्लेख छ । औद्योगिक ग्राम सञ्चालन पश्चात् स्याउ, सिमि, ओखर, जल, जमिन, जडिबुटीको उत्पादन वृद्धि, प्रशोधन तथा बजारीकरणमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस