जुम्लाका स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित

जुम्ला – जुम्लाका ६० जना स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित भएका छन् । सेवासुविधाको माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित भएका हुन् ।
नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपनि जुम्लामा २०७४ सालदेखि सुरु भएको हो । त्यति बेलादेखि काम गर्दै आएका स्वास्थ्य बीमा दर्ता सहयोगीले समयमा सेवासुविधा नपाएको गुनासो गरेका हुन् ।
पाउने प्रतिशत भन्दा तलब भर्ताको व्याबस्थापन गर्नुपर्ने र दर्ता सहयोगीलाई पदस्थापनाको लागि स्थानीय तहलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् ।
दर्ता सहयोगीले कर्तव्य पालनको शिलशिलामा आई पर्ने जोखिम न्युनिकरण र व्याबस्थापनमा सुरक्षाको लागि स्वास्थ्य र जीवन बिमाको अनिवार्य राज्यबाट व्यावस्था गर्नुपर्ने भनेका छन् ।
संञ्चय कोषको व्यवस्था, सेवाबाट बाहिरिदा सेवा अवधि अनुसार प्रचलित नियम अनुसार उपदानको व्यवस्था गर्नुपर्ने माग रहेको स्वाथ्य बीमा दर्ता सहयोगी धनबहादुर रावतले बताए । उनले भने कर्मचारी भर्ना गर्दा योग्यता र क्षमताका आधारमा आन्तरिक प्रतिस्पर्धामा उमेरको हद लगाउनु हुदैन ।
यतिबेला असारमा बीमा नविकरण गर्नुपर्ने समय हो । तर बीमा दर्ता सहयोगी सवै आन्दोलित छन् । बीमा बोर्डले प्रति बीमाको १० प्रतिशत बोनस बाहेक अन्य कुनै सेवा सुविधा नदिएको र बोनस पनि समयमा उपलब्ध नभएको दर्ता सहयोगी सरिता रोकायाले बताइन् । उनले भनिन् बीमा बोर्डले देशभरका सबै दर्ता सहयोगीका लागि एउटै नियम लागु गरेपछि दुर्गमका लागि थप सेवा सुविधा दिन आवश्यक छ ।
स्वास्थ्य बीमा बोड जुम्ला शाखा प्रमुख प्रेम भण्डारीका अनुसार स्वास्थ्य बीमा दर्ता सहयोगी देशभर आन्दोलित छन् । उनले भने जुम्लाको हकमा काम प्रभावित हुने गरी अहिले आन्दोलन भएको छैन । बीमा बोर्ड केन्द्र दर्ता सहयोगीको मागप्रति सकारात्मक रहेको छ ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस