पातारासीका शिक्षकमाथि दुर्व्यवहार, घटनाका आरोपित पक्राउ

जुम्ला-पातारासी गाउँपालिका शंकर माध्यामिक विद्यालयका शिक्षकमाथि हातपात भएपछि जिल्ला प्रशासन कार्यालयमा शुक्रबार धर्ना दिएका थिए । गाउँपालिकाको अनुदानमा निमावि तहको शिक्षक परीक्षा सञ्चालन भइरहेका बेला एक युवाले शिक्षकमाथि हातपात गरेपछि कानुनी कारवाहीको माग गर्दै प्रशासनमा धर्ना दिएका हुन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
असार ६ गते पातारासी गाउँपालिका–५ लोर्पा गाउँका ३२ वर्षीय अमृत बुढाले शंकर माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक गोकर्ण जिसीमाथि हातपात गरेको आरोप छ ।
मादक पदार्थ सेवन गर्दै हिँड्ने अमृतले गाउँपालिका अन्तर्गतको शिक्षा युवा तथा खेलकुद शाखाभित्र प्रवेश गरेर शिक्षकमाथि हातपात गरेका थिए । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अभिराज उपाध्याय र विषयविज्ञ दुर्गा बुढा र भोजराज न्यौपानेलाई अभद्र व्यवहार गरी उनले ज्यान मार्ने धम्कीसमेत दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
परीक्षाको पहिलो पेपर चेकजाँच भइसकेको र दोस्रो पेपरको परीक्षा हुँदै थियो, शाखाभित्र प्रवेश गरेर अमृत बुढाले अभद्र व्यवहार गरेको विषयविज्ञ भोजराज न्यौपाने बताए । उनले भने, ‘हामीलाई विभिन्न आरोप लगाइएको छ । नजिकै रहेको स्थानीय सरकार यस घटनाप्रति मूकदर्शक बनेकोमा आफूलाई दुःख लागेको न्यौपानेले बताए । घुस खाएर आफ्नो मान्छे ल्याउने प्रपञ्च रचिएको छ भनेर अर्का विषयज्ञ दुर्गा बुढाप्रति अपशब्द बोलियो । अश्लील शब्द बोलेर महिलालाई होच्याइयो ।’
शिक्षा ऐन २०२८ बमोजिम सञ्चालन भइरहेको परीक्षा रोकी अराजक व्यवहार प्रदर्शन गर्ने अमृत बुढालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसमक्ष अपिल गरिएको शिक्षा शाखा प्रमुख अभिराज उपाध्यायले बताए ।
एक निष्ठवान् शिक्षकप्रति भएको आपत्तिजनक व्यवहारको भर्त्सना गर्दै दोषीमाथि कारबाही नगरेसम्म सम्पूर्ण विद्यालय बन्द हुने सरस्वती माविका शिक्षक भीमबहादुर बिकले बताए । अमृतको अभद्र व्यवहारका कारण यसअघि दुईपटक परीक्षा रद्द गर्नुपरेको थियो उनले भने ।
यो घटनाका दोषीमाथि कारबाहीप्रति गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूले ऐक्यबद्धता जनाएका छन् । ४२ जना शिक्षकद्वारा सामूहिक हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूको सार्वजनिक सुरक्षा नभएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही नगरेसम्म विद्यालयमा नियमित उपस्थित हुन नसकिने, सम्भावित घटनाको जिम्मेवारी प्रशासनले लिनुपर्ने र जिल्ला प्रशासन कार्यालय जुम्लामा हाजिर गरिने छ ।’
शिक्षकमाथि दुव्र्यवहार गर्ने व्यक्ति अमृत बुढा विरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा असार ७ गते अभद्रव्यवहार उजुरी आएको प्रहरी निरीक्षक उमेश चन्दले बताए । उनले भने अब मुद्दा नै चल्ने भएको छ । उनी शुक्रबार पक्राउ परेका छन् ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस