जुम्लाका आठै पालिकाले ल्याए नीति तथा कार्यक्रम र बजेट

सिंजाको कुल बजेटको २१ प्रतिशत शिक्षामा

जुम्ला – जुम्लाका आठै पालिकाले नयाँ आर्थिक वर्ष ०८१÷०८२ का लागि नीति तथा कार्यक्रम ल्याएका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाले बजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन् ।
स्थानीय तहले असार १० गते अनिवार्य नीति तथा कार्यक्रम र बजेट ल्याउने राज्यको नीति रहेको छ । सोही बमोजिम यहाँका आठै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
चन्दननाथ नगरपालिकाले नीति तथा कार्यक्रमसहित ६७ करोड १० लाख ३४ हजार १०९ रुपियाँको बजेट ल्याएको छ । नगरपालिका उपप्रमुख रामदेवि खड्काले १३ औँ नगर सभामा आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि बजेट प्रस्तुत गरेकी हुन् ।
सिंजा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड २१ लाख ५६ हजार रुपियाँ बजेट ल्याएको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने नयाँ आर्थिक वर्षका शिक्षालाई विशेष प्रथामिकता दिएका छौँ । कुल बजेटको २१ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ । पुर्वाधार, पर्यटन, कृषि क्षेत्रलाई पनि प्रथामिकता दिएको छ ।
तातोपानी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ४० लाख एक हजार ८७९ रुपियाँ बजेट ल्याएको गाउँपालिका उपप्रमुख रेवती रावलले बताइन् । विशेष गरी शिक्षा स्वास्थ्य कृषि, उद्योग, ग्रामिण सडक निर्माणमा प्रथामिकता राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।
पुराना नीति तथा कार्यक्रमलाई यथावत राखेर महिला र दलितलाई लोकसेवा तयारी कक्षा, सय भन्दा बढी भेडा पाल्नेलाई गोठालो भत्ता, एकल पुरुष भत्ता, कृषि बीमा, महिला स्वास्थ्य स्वयम सेविका सञ्चार सुविधा, अन्तरजातीय विवाह प्रोत्साहनसहित नीति तथा कार्यक्रम समेटिएको छ । सोही नीति तथा कार्यक्रम बमोजिम बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताए ।
तिला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ८४ लाख २० हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनले भने विशेषगरी विपद्, खडेरी, ग्रामिण सडक निर्माण, खानेपानी, स्वास्थ्य शिक्षा, कृषिसहित नीति तथा कार्यक्रम बजेटमा प्रथामिकता राखिएको छ ।
हिमा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४९ करोड ४१ लाख ९० हजार रुपियाँ बजेट ल्याएको सूचना अधिकारी रतन रावतले बताए ।
कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोड २ लाख २५ हजार ६ सय ४६ रुपियाँको बजेट ल्याएको छ । विशेष गरी शिक्षालाई प्रथामिकतामा राखिर नयाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताए ।
पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४४ करोड ४९ लाख ६० हजार रुपियाँ बजेट ल्याएको उपप्रमुख जनमाया रोकायाले बताइन् ।
गुठीचौर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित गत वर्षको एक करोड १३ लाख अल्यासहित ४१ करोड १० लाख ४९ हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका प्रबक्त अर्जुन महताराले बताए ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस