जुम्लाका आठ पालिकाले ल्याए ३ अर्ब ९१ करोडकाे बजेट,(कुन पालिकाकाे कति) ?

शिक्षा,स्वास्थ्य,कृषि र पूर्वाधार विकासमा प्रथामिकता

जुम्ला । जुम्लाका आठै स्थानीयतहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । यहाँको एक नगरपालिका सहित सात गाउँपालिकाले आगामी आवका लागि ३ अर्ब ९१ करोडबढीको बजेट ल्याएका छन् । असार १० गते अनिवार्य रुपमा नीति र बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थानुसार स्थानीयतहले नीति र बजेट ल्याएका हुन् ।

आगामी आर्थिक वर्ष२०८१÷८२ का लागि यहाँका आठ स्थानीयतहले कुल ३ अर्ब ९१ करोड ६० लाख ५७ हजार बराबरको वार्षिक बजेट ल्याएका हुन् ।

शिक्षा,स्वास्थ्य,कृषि,पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्रथामिकता दिदैँ पालिकाले बजेट ल्याएका छन् ।

यूवा रोजगारी,उद्यमशीलता विकास,पशुपालन,व्यवसायीक कृषि,एकल पुरुषलाई भत्ता,भेडा पालक किसानलाई भत्ता लगायतका नयाँ नीति तथा कार्यक्रम ल्याएका छन् ।

जसमा जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाको १३ औँ नगरसभाबाट चालु र पुँजीगत गरी कूल ६७ करोड १० लाख ५६ हजार बराबरको बजेट ल्याएको चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले बताईन् । मेयर राजुसिंह कठायतका अनुसार नगरबस संचालनदेखि उद्योग स्थापना,लागू ओैषध नियन्त्रण,पूर्वाधार विकास लगायतका क्षेत्रमा प्रथामिकता दिईएकाे छ ।

त्यस्तै,तातोपानी गाउँपालिकाले ४९ करोड ४० लाख एक हजार ८७९ रुपियाँ बजेट ल्याएको छ । उपाध्यक्ष  रेवती रावलका अनुसार पालिकाका ८ वटै वडामा आबश्यकताका आधारमा बजेट बाँडफाँड समेत भईसकेको छ । यदपी,बजेट भने पारित हुन बाँकी छ ।

तर तातोपानीको नीति तथा कार्यक्रम भने बहुमतले पारित भईसकेको छ । गोठाला तथा एकल पुरुषलाई भत्ता,लोक सेवा पढ्नलाई अनुदान लगायतका लोकप्रिय र कार्यान्वयनमुखी बजेट नीति ल्याएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

पुराना केहि नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै  महिला र दलितलाई लोकसेवा तयारी कक्षा, सय भन्दा बढी भेडा पाल्नेलाई गोठालो भत्ता, एकल पुरुष भत्ता, कृषि बीमा, महिला स्वास्थ्य स्वयम सेविका सञ्चार सुविधा, अन्तरजातीय विवाह प्रोत्साहनसहित नीति तथा कार्यक्रम समेटिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।

उता  तिला गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि ४७ करोड ८४ लाख २० हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनका अनुसार तिलाले कृषि,पूर्वाधार तथा स्वास्थ्यलाई बढी प्रथामिकता दिएर बजेट ल्याएको छ ।

हिमा गाउँपालिकाले नीति तथा कार्यक्रम सहित आगामी वर्षका लागि ४९ करोड ४१ लाख ९० हजार रुपियाँ बजेट ल्याएको हिमा गाउँपालिकाका सूचना अधिकारी रतन रावतले जानकारी दिए ।

भने सिंजा गाउँपालिकाले कुल ४१ करोड २१ लाख ५६ हजार बराबरको बजेट ल्याएको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

उनले भने,‘नयाँ आर्थिक वर्षका शिक्षालाई विशेष प्रथामिकता दिएका छौँ । कुल बजेटको २१ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ ।  पुर्वाधार, पर्यटन, कृषि क्षेत्रलाई पनि प्रथामिकता दिएको छ ।’

साथै कनकासुन्दरी गाउँपालिकाले कुल ५१ करोड २ लाख २५ हजार ६ सय ४६ बजेट ल्याएको छ । जुम्लाका आठ पालिका मध्य कनकासुन्दरी मन्त्रालयको सुत्रमा बजेट पेश गर्ने पहिलो पालिका बनेको छ । कनकासुन्दरीले विशेष गरी शिक्षालाई प्रथामिकतामा  दिएर बजेट ल्याएको छ ।

पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ४९ लाख ६० हजार रुपियाँ बजेट ल्याएको उपप्रमुख जनमाया रोकायाले बताइन् ।  जिल्लाकै अन्नभण्डार मानिने पातारासीमा कृषि क्षेत्रलाई प्रथामिकतामा राखी नीति र बजेट ल्याइएको छ ।

त्यस्तै,गुठीचौर गाउँपालिकाले नीति तथा कार्यक्रम सहित ४१ करोड १० लाख ४९ हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका प्रबक्त अर्जुन महताराले बताए । उनका अनुसार बजेटमा गत वर्षको एक करोड १३ लाख अल्या बजेट समेत जोडिएको छ ।

स्थानीयतहले संघ र प्रदेशबाट प्राप्त,समानीकरण,विशेष,समपुरक र शर्सत अनुदानका भरमा बजेट निर्माण गरेका छन् । पालिकाहरु आन्तरिक आम्दानीमा कमजोर हुँदा अनुदानकै भरमा बजेट बनाउन बाध्य छन् ।

७ पालिकाको बजेट सुत्रमा पेश
कर्णाली प्रदेशका सात स्थानीयतहको नीति तथा कार्यक्रम र बजेट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सुत्रमा पेश भएको छ । समचार तयार गरुन्जेल सम्म कर्णालीका ७९ वटा स्थानीयतह मध्य जुम्लाका चार,डोल्पाका दुई र हुम्लाका एक गरी सात पालिकाको बजेट मन्त्रालयको वईसाईटमा पेश भएको हो ।

जसमा जुम्लाको तातोपानी गाउँपालिका, चन्दननाथ नगपालिका,पातारासी गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको बजेट पेश भएको छ । भने हुम्लाको खार्पुनाथ गाउँपालिका र डोल्पाको ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको बजेट पेश भएको छ ।

यो संगै देशभरका सात सय ५३ स्थानीयतह मध्य साढे ७ बजेसम्म १६१ पालिकाको मात्रै बजेट मन्त्रालयको सुत्रमा अपडेट भएको छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस