तातोपानीका १० नमुना नीतिः निःशुल्क लोकसेवा कक्षा संचालनदेखि गोठालो भत्तासम्म

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले यहाँका अन्य सात पालिका भन्दा केहि नयाँ नीति तथा कार्यक्रम ल्याएको छ । तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईले नागरिकको ज्युधनको सुरक्षादेखि यूवा रोजगारी,उद्यमशीलता,पर्यटन,उत्पादन बृद्धि,उच्च शिक्षा,व्यवसाय प्रर्बद्धन लगायतका क्षेत्रलाई जोडेर करिब डेढ दर्जनबढी नयाँ नीति कार्यक्रम ल्याएका हुने । उक्त नीति र कार्यक्रमलाई कार्यान्वयनमा लैजान गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तर्जुमा समितिका संयोजक रेवती रावलले आबश्यक बजेट पनि विनियोजन गरेकी छन् ।

जसमा डाक्टरी पढाईदेखि गोठालो भत्ता सम्मका कार्यक्रम छ । उच्च शिक्षामा पालिकाकै एमबीबीएस डाक्टर पढाउन अनुदान दिनेदेखि भेडा पालनमा किसानलाई आर्कषित गर्न गोठालो भक्ता दिने कार्यक्रम ल्याइएको छ । तातोपानीको बजेट वक्तव्यको बुँदा नंं. १९ मा आफ्नै पालिकामा डाक्टर उत्पादन गर्न एमवीवीएस पढाउने उल्लेख गरिएको छ । पालिकाका विपन्न र परिवारका जेहेन्दार विद्यार्थी लक्षित डाक्टरी ‘एमबीबीएस अध्यायन कार्यक्रम’ संचालन गरिने छ । वर्षमा एक जनालाई ५० प्रतिशत अनुदान उपलब्ध गराएर एमवीवीए पढाउन १५ लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार पढाई सकेपछि कम्तीमा पाँच वर्ष पालिकामै सेवा गर्नुपर्ने छ ।

पालिकाभित्र भेडा पालनको सम्भावना र अबसरलाई मध्यनजर गर्दै किसानलाई आर्कषित गर्न ‘गोठालो भक्ता कार्यक्रम’ ल्याईएको उपाध्यक्ष रेवती रावलले बताईन् । उनले भनिन,‘हाम्रो पालिका भेडापालनमा निकै सम्भावना बोकेको छ । किसानलाई व्यवसायीक भेडापालनमा हौस्याउन गोठाला भक्ता दिने कार्यक्रम ल्याएका छौ । एकसयभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक ५ सय भत्ता दिईने छ । उक्त कार्यक्रमले व्यवसायीक भेडापालनमा किसान आर्कषित हुने अपेक्षा छ ।’ कर्णालीमा प्रदेश सरकारले गोठालो भत्ता कार्यक्रम ल्याएपनि निरन्तरता पाउने सकेको छैन् ।

पछिल्लो समय सरकारी सेवा प्रतिको आर्कषण बढ्दो छ । तर आर्थिक अभावले क्षामता भएका विपन्न समुदायका छोराछोरी खुम्चीएका छन् । विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुका लागि निःशुल्क ‘लोकसेवा तयारी कक्षा संचालन’ गरिने भएको छ । यो कार्यक्रमका लागि १० लाख विनियोजन छ । अब तातोपानीका विपन्न परिवारका छोराछोरीले निःशुल्क लोकसेवा पढ्ने छन् ।
सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अबस्था सुधारका लागि जिल्लामै पहिलो ‘शैक्षिक कचहरी’ कार्यक्रम संचालन गरिने भएको छ । उक्त कार्यक्रम संचालन गर्न आगामी आवका लागि ५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण र उत्पादन बढाउन ‘दिवाँ खाजालाई अनिवार्य अर्गानिक’ बनाईने नीति लिएको छ । पालिकाका २९ वटै सामुायिक विद्यालयमा अर्गानिक खाजा खुवाउने नीति लिएको अध्यक्ष चौलागाईले उल्लेख गरे । उनले भने,‘विश्व खाद्य कार्यक्रम संगको साझेदारीमा संचालित स्थानीय कृषि उपजमा आधारित ‘अर्गानिक दिवा खाजा कार्यक्रम’ सबै विद्यालयमा लागु गरिने छ । यसका लागि एक करोड विनियोजन भएको छ ।’

दिवा खाजा अनिवार्य अर्गानिक गरिने नीतिले उत्पादन बढ्ने र विद्यालयमा विद्यार्थी पनि बढ्ने अपेक्षा पालिकाको छ । स्थानीय कृषि उजमा आधारित अर्गानिक दिवाँ खाजा कार्यक्रमका लागि विश्व खाद्य कार्यक्रमले ५३ लाखबढीको कार्यक्रम संचालन समेत गर्दै छ ।

पछिल्लो समय बाढी,पहिरो तथा भुकम्पीय जोखिमका कारण बढ्दो भौतिक क्षेतिलाई मध्यनजर गर्दै पालिका भरीका ३३ सय घरधुरीकै ‘निःशुल्क घर बिमा’ गर्ने नीति ल्याइएको छ । सबै पालिकाबासीको घर बिमा गर्न २० लाख विनियोजन गरिएको छ ।
त्यस्तै आर्थिक अभावका कारण सामान्य उपचार गराउन विपन्न समुदायका नागरिक बन्चित छन् । विपन्न समुदायलाई विशेषज्ञ उपचारको पहुँचमा पुराउने उदेश्यले ‘निशुल्क स्वास्थ्य बिमा कार्यक्रम’ ल्याईएको अध्यक्ष चौलागाईले उल्लेख गरे । उक्त कार्यक्रममा १६ लाख छुटाइएको छ । निशुल्क विमापछि विपन्न नागरिक स्वास्थ्य उपचारको पहुँचमा पुग्ने आशा छ ।

भने अन्तरजातीय विहे गरेका जोडीलाई प्रोत्साहन गर्ने र जातीय विभेदलाई नित्साहित गर्ने मनसायले ‘दलित उत्थान कार्यक्रम’ संचालन गरिने छ । उक्त कार्यक्रम संचालनार्थ ५ लाख छुटाईएको छ । त्यसका साथै आर्थिक रुपमा विपन्न सामाजिक सुरक्षाभत्ताबाट लाभान्वित बाहेक अन्य एक पुरुषलाई तातोपानीले ‘एकल पुरुष भत्ता कार्यक्रम’ मार्फत भत्ता दिने भएको छ । जसमा ४ लाख विनियोजित छ ।

बेरोजगारका रुपमा सूचिकृत र तर काम विहिन यूवाको सिप र क्षामतालाई मध्यनजर गरी स्वरोजगार उत्पादनसंग जोडेर ‘यूवा व्यवसायीक कार्यक्रम’ संचालन गरिने छ । यसले यूवालाई रोजगारी संगै गाउँको विकासले गति लिने अपेक्षा छ ।
श्रमदान कार्यक्रमको निरन्तरता,योजना बिमा,सांस्कृतिक महोत्सव,पालिकाका २९ वटै सामुदायिक विद्यालयमा अर्गानिक दिवा खाजा लागु,गाउँ गाउँमा स्वास्थ्य घुम्ती शिविर,उपभोक्ता समितिको क्षामता विकास, लगायतका नमुना कार्यक्रम ल्याएको छ ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस