जुम्ला । तातोपानी गाउँपालिका – ५ ऐरेनीस्थित दुर्गा मावि लाम्रामा भएको घटनाका विषयमा छानविन समिति गठन भएको छ । तातोपानी गाउँपालिकाले वडाध्यक्ष विशाल खड्काको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यमा वडाध्यक्ष अमरबहादुर रोकाया, वडाध्यक्ष गोकर्ण रावल, शिक्षा शाखा प्रमुख सुरतबहादुर शाही र महिला शाखा प्रमुख शान्ति भक्त रहेका छन् ।
गठित समितिले ७ दिन भित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन गाउँ कार्यपालिकालाई बुझाउने छ । प्राप्त प्रतिवेदनको अध्ययन पश्चात दोषीलाई आवश्यक कारवाही गरिने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने कार्यपालिकाको निर्णयबाट समिति बनेको हो । छानविन समितिले सिफारिस गरेपछि दोषी ठहरिएका जोसुकै पक्षलाई थलोमै कारवाही गरिने छ
आगामी दिनमा यस प्रकारको घटना घट्न नदिई विद्यालयलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दछौँ । आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न अपिल गर्दछौँ उनले भने ।
विद्यालय शिक्षाको मन्दिर हो, जहाँ सुरक्षित, भयरहित र हिंसारहित तवरले शिक्षण क्रियाकलाप सञ्चालन हुने शान्ति क्षेत्र पनि हो । विद्यार्थीहरु भविष्यका कर्णाधार हुन र उनिहरुको भविष्य निर्माणमा विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकको महत्वपूर्ण भूमिका रहन्छ । विद्यालय व्यवस्थापन समितिको कुशल व्यवस्थापकिय पक्ष र शिक्षकहरुको असल शिक्षण क्रियाकलापले मात्र विद्यालय उत्कृष्ट हुने हो गाउँपालिकाको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
दुर्गा माध्यामिक विद्यालय लाम्रामा असार ११ गते स्कूल सञ्चालन भईरहेको समयमा विव्यस अध्यक्ष आदिप्रसाद न्यौपाने, शिक्षक जय शंकर धिताल र शिक्षक टेकबहादुर रोकाया बीच आपासी विवाद पश्चात ढुङ्गामुढा र हातपात भएको खबरप्रति गम्भिर ध्यानाकर्षण भएको पालिकाले भनेको छ ।
जिम्मेवार व्यक्तिबाट नै यस प्रकारका घृणित र लज्जास्पत कार्यबाट सिंगो गाउँपालिकाको बदनाम हुनुका साथै निजहरुबाट शैक्षिक क्षेत्रको सुधारको अपेक्षामा तुषारापात भएको छ । विद्यालय जस्तो शान्ति क्षेत्रमा यस प्रकारको अमानविय कार्यको जति नै भत्सर्ना गरेपनि कम हुन्छ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
आगामी दिनमा यस प्रकारका कार्यहरु विद्यालय हाताभित्र दोहोरिन नदिई बालबालिकाले शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न दोषीलाई कडा भन्दा कडा कारवाही गर्न गाउँपालिका प्रतिवद्ध छ ।
पक्ष–विपक्ष आरोप पत्यारोप
शिक्षक जयशंकर धितालले आदिप्रसाद न्यौपानेको टिमले आफुमाथि सांघातिक हमाल गरेका आरोप लगाएको छन् । उनले सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै विद्यार्थीलाई भौतिक संरचना निर्माण गर्न बालबालिका प्रयोग गरिएको भनेका छन् । विद्यालयमा राजनीतिक रुपमा विद्यार्थी संघसंगठन गठन गरिएको भनेका छन् । माओवादी सम्वद्ध संघ संगठनले घटनाको छानविन गर्न मागसहित प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका न्यौपानेले शिक्षक धितालले विद्यालयमा पठनपाठन गर्न नआउने, आएपनि समयमा उपस्थित नहुने र पोशाकसहित अनुशासन पालन नगर्ने आरोप लगाएका छन् । यस्तै उनले विद्यालयमा शिक्षक धितालले बालबालिकालाई कुटपिट गर्ने गरेको पनि भिडियो सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।



