मुगुका विद्यालयमा एक महिने बर्खे बिदा 

जुम्ला । जिल्लामा तीन स्थानीय तहका सामुदायिक विद्यालयमा एक महिने बर्खे बिदा दिइएको छ । 

छायाँनाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका सामुदायिक विद्यालयमा असार १४ देखि साउन १५ गतेसम्म एक महिना बर्खे बिदा गरिएको शिक्षा विकास समन्वय इकाई कार्यालय प्रमुख खड्कराज भियालले जानकारी गराए । पूर्वीक्षेत्र मुगुम कार्मारोङ गाउँपालिकाअन्तर्गतका विद्यालयमा बर्खे बिदा नभई एक महिने हिउँदे बिदा गरिने उनले बताए । उक्त क्षेत्रमा हिउँदमा अत्यधिक जाडोले पठनपाठन गर्न नसकिने भएकोले हिउँदे बिदा दिने गरिएको छ ।

खेतीपातीको कामसँगै वर्षाले बाढीपहिरो, गर्मीलगायत कारणले पढाई प्रभावित हुने भएकोले तीन स्थानीय तहका सामुदायिक विद्यालयमा बर्खे बिदा दिने निर्णय गरिएको शिक्षा विकास समन्वय इकाई कार्यालयले जनाएको छ ।

शिक्षा विकास समन्वय इकाई प्रमुख भियालका अनुसार एक वर्षमा ४५ दिन स्कुल बिदा हुने र २०५ दिन पढाइ हुने गरेको छ ।

कान्तिपुर

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस