जुम्ला – क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत चन्दननाथ नगरपालिका स्तरीय समितिलाई अभिमुखिकरण तथा सुश्म योजना तर्जमा गोष्ठी सम्पन्न भएको छ । सन् २०३० सम्म नेपाल सरकारले देशभर क्षयरोग मुक्त गर्दै छ । सोही बमोजिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष ०८१÷०८२ का लागि सुक्ष्म योजना तर्जमा गरिएको हो ।
क्षयरोग पहिचान र निदानका लागि पालिका स्तरीय प्रयोगशााला स्थापना गर्ने योजना तर्जमा भएको चन्दननाथ नगरपालिका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । उनले भने यसका लागि ८ लाख बजेट विनियोजन गरिएको छ । यस्तै समुदायि र विद्यालय स्तरमा सचेतीकरण गर्नका लागि पनि योजना बनाएको छ ।
चन्दननाथ नगरपालिकामा १३ जना क्षयरोगी रहेका छन् । उनीहरु सवै जनाले नियमित औषधि प्रयोग गर्दै आएका छन् । जनस्वास्थ्य निरीक्षक महतले भने नियमित औषधि प्रयोग नगरेको खण्डमा यो निको नहुने रोग हो ।
वडा नं. २ मा एक जना, वडा नं. ३ मा ३ जना, वडा नं. ४ मा एक जना, वडा नं. ६ मा एक जना, वडा नं. ७ मा एक जना, वडा नं. ८ मा ४ जना, वडा नं. ९ मा एक जना र वडा नं. १० मा एक जना क्षयरोगी रहेको जनाएको छ ।
१० मिटर बाटो निर्माण भएपछि मात्रै विकास भयो भन्ने तर स्वास्थ्य शिक्षालाई प्रथामिकता नदिने परिपाटी रहेको उपमेयर रामदेवि खड्काले बताइन् । उनले भनिन् तर त्यसो होइन । स्वास्थ्य शिक्षालाई पहिलो प्रथामिकता दिनु पर्दछ । नगरपालिकामा पनि सोही अनुसार बजेट विनियोजन हुने छ ।
चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतका अनुसार अहिले पनि क्षयरोग लुकाएर राख्ने गरिएको छ । उनले भने नेपाल सरकारले नियमित औषधिको प्रयोगले निको हुने रोग हो भनेर नागरिक बुझ्न आवश्यक रहेको छ । स्वास्थ्य मानिसको महत्वपूर्ण कुरा हो । यसमा लगानी गर्न कन्जुस्याई गर्नु हुदैन ।



