अदालतको आदेशपछि देउराली माविका लेखापाल रावतको पदवहाली

जुम्ला – तिला गाउँपालिका – ८ जुम्लाकोटस्थित देउराली माध्यामिक विद्यालयका लेखापाल लालभक्त रावतको उच्च अदालत सुर्खेत, जुम्ला इजलासले अन्तरिम आदेशपछि पदवहाली भएको छ । न्यायाधीश जगदीश घिमिरे र कैलास गुरुङको संयूक्त इजलासले असार १३ गते अन्तिम आदेश गरेपछि असार १६ गतेदेखि पदवहाली भएको हो । संयुक्त इजलासले तीन दिन भित्र पदवहाली गराई जानकारी गराउन विद्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशानुसार ०८० असोज २५ को पत्र एंव निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु र निवेदकलाई साविक बमोजिमको पदमा हाजिर गराउनु भनी अदालतले देउराली मावि जुम्लाकोटका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
देउराली माध्यमिक विद्यालय जुम्लाकोटले ०८० असोज २५ मा निर्णय गर्दै लेखपाल रावतलाई पदबाट बर्खास्त गरेको थियो । लेखापाल रावतले पदवहाली गरी पाउँ भन्दै ०८१ जेठ २८ गते बर्खास्त बदरको माग गर्दै उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।
लेखपाल रावतलाई अवकाश हुने जानकारी गराउनु पुर्व निजलाई सुनुवाईको मौका प्रदान नगरिएको हुनाले तिला गाउँपालिकाको स्थानीय शिक्षा विकास तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७४ को दफा २३ (१) मा शिक्षक वा कर्मचारीलाई विद्यालयको व्यवस्थापन समितिले पदबाट हटाउन गाउँपालिकामा सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।
तर, तिला गाउँपालिकाको २०८१ वैशाख १२ को निवेदकलाई पदवहाली गरी ३ तिन दिन भित्र जानकारी गराउनु भन्ने पत्र समेतको मिसिल संलग्न गरी २०८० असोज २५ को पत्र एंव निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु र निवेदकलाई साविक बमोजिमको पदमा हाजिर गराउनु भनी उच्च अदालत नियमावली २०७ को नियम ४२ (१) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।
उच्च अदालत सुर्खेत, जुम्ला इजलासले देउराली माध्यमिक विद्यालय जुम्लाकोट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरजित बस्नेत र प्रधानाध्यापक रामभजन यादवलाई जानकारी गराएको छ । यता, प्रधानाध्यापक यादवले अदालतको आदेश कार्यान्वयन गर्दै रावतलाई विद्यालयमा हाजिर गराई सकेको बताए । उनले भने मुद्दा फैसला नहुँदा सम्मको लागि अन्तरिम आएको हो । विद्यालयबाट अदालतले लिखित जवाफ लिएको छैन् ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस