नरेश ‘स्टोन’का चार मुक्तक

बढ्दै गएको छ मनको बह म के गरूँ
भैसकेको छु अचेल मरे सरह म के गरूँ
बेहिसाब जिम्मेवारी थपिदियो समयले
कमजोर छ जीवनको सतह म के गरूँ

जिम्मेवारीको बाटो हिड्ने कुरा निश्चित गरेर
आँखाको सपनालाई आँखामै सिमित गरेर
डिग्री पास गरेरनि परदेश जानुपर्यो धेरैलाई
आफ्नो योग्यता बाध्यतालाई समर्पित गरेर

कुरा काट्न खेदो खन्न पनि मेरो स्तरको हुनुपर्छ
ऊ मेरो विरोधी हो भन्न पनि मेरो स्तरको हुनुपर्छ
तिमी दुई जिब्रेले मित्र बनौं कुन आधारले भन्छौ
बुझ्यौ मेरो दुश्मन बन्न पनि मेरो स्तरको हुनुपर्छ

खाली छन् माना र पाथी म के गरुँ
जिम्मेवारी थपिए म माथि म के गरूँ
कमाएर यो गर्छु त्यो गर्छु भन्दाभन्दै
अभाव बन्यो स्थायी साथी म के गरूँ

नरेश स्टोन बिगत लामो समयदेखि मुक्तक बिधामा कलम चलाउदै आएका सफल सर्जक हुन । यद्यपि उनले गजल पनि लेख्ने गरेका छन् । उनी हाल भारतमा बसोबास गर्दै आएका छन ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस