पाँच महिनादेखि तलव भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो

जुम्ला – गत फागुन महिनादेखि तलव भत्ता नपाएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । चालु आर्थिक वर्ष ०८०÷०८१ को खाता बन्द (कोलोजिङ) एक साता मात्रै बाँकी रहेको छ ।
तर स्वास्थ्यकर्मीको तलव भत्ताका लागि रकम निकासा नआएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए ।
उनले भने अहोरात्र खटिएर ८० प्रतिशत स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीले लामो समयसम्म तलव भत्ता नपाउनु दुखद पक्ष हो ।
चन्दननाथ नगरपालिकामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्थायी २९ जनासहित यहाँको ८ वटै स्थानीय तहमा कार्यरत दुई जना स्वास्थ्यकर्मीले ०८० फागुन महिनादेखि तलव भत्ता नपाएको जनस्वास्थ्य निरीक्षक महतले बताए ।
स्वास्थ्य तथा जनस्ख्या मंत्रालयले स्थायी स्वास्थ्यकर्मीका लागि अपुग तलव भत्ता जेठ २८ गते माग गर्दा पनि अर्थ मन्त्रालयले चालु आर्थिक बर्ष समाप्त हुन लाग्दा पनि रकम निकासा नगरेको उनले बताए ।
चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार तलव भत्ताको रकम निकास नआएकोले स्वास्थ्यकर्मीलाई उपलव्ध गराउन सकिएको छैन । उनले भने असार २० गतेसम्म निकासा आउने भन्ने छ । निकासा आएपछि एकै पटक पाँच महिनाको तलव उपलव्ध गरिने छ ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस