दुर्गमका विद्यालमा ‘मोडेल कक्षा’ सञ्चालनपछि बालबालिका आर्कषित

सिंजा क्षेत्रका तीन पालिकाका १० विद्यालयमा पेश नेपालको सहयोगमा १० मिोडेल कक्षा संचालन,विद्यार्थीको आर्कषणसंगै सिकाई पनि बृद्धि

जुम्ला । हिमा गाउँपालिका वडा नं. ५ की सम्झौता शाही पछिल्लो समय नियमित विद्यालय आउन थालेकी छन् । कालिका मावि विद्यालयको कक्षा २ मा अध्यायनरत उनी विगतमा प्राय स्कूल नआउने,आएपनि भागेर घर जाने,पढाईमा मन नलगाउने गरेपनि सम्झौता आजभोली उत्साहित हुदैँ विद्यालय आउन थालेकी हुन् ।

विद्यालयमा मोडेल कक्षा संचालन भएपछि छापामय कक्षा कोठा,मैत्रीपूर्ण बसाई व्यवस्थापन,प्रयाप्त डेस्क बेन्च लगायतका थुप्रै शैक्षिक सामाग्री कक्षा कोठामा हुने भएकोले विगतभन्दा पठनपाठन निकै सहज हुदै गएको छ ।

हिमा–५ स्थित कालिका माध्यमिक विद्यालयमा मोडेल कक्षा संचालन भएपछि सम्झौता शाही मात्र नभई सिंजा क्षेत्रका तीन पालिकाका सयौ बालबालिका सामुदायिक विद्यालयमा आर्कषित भएका छन् ।

सामुदायिक विद्यालयमा मोडेल कक्षा संचालनपछि विस्तारै विद्यार्थीको आर्कषण बढेको छ । कालिका माविका प्रधानाध्यापक खाम्बा शाही भन्छन,‘विगतमा धुलो माटोमै बस्नु पर्ने अबस्था थियो । अहिले कार्पेट,पिपि फर्म बिछ्याइएको छ । छापामय कक्षा बनेका छन् । विज्ञान प्रयोगशाला पनि छ । पेश नेपालबाट मोडेल कक्षा कार्यक्रम अन्तरर्गत थुप्रै सहयोग पाएपछि ईसिडिदेखि कक्षा ३ सम्मका बालबालिकाका सिकाई बृद्धि तथा विद्यालय आर्कषण बढेको छ ।’

पेश नेपालद्धारा संचालित ‘आधार परियोजना’ले मोडेल कक्षा अरु भन्दा फरक कक्षा कोठा व्यवस्थापन संगै विद्यालय व्यवस्थापन समितिको क्षामता विकास,यूवा क्लबका पदाधिकारी,किशोरी क्लब र अभिभावकलाई विद्यालय सुधार तथा प्रारम्भीक बालविकासका लागि विभिन्न कुराको अभिमुखीकरण गराउदैँ आएको छ । ‘भने घरघरमा पढाई कुना निर्माण भएका छन् । विद्यालयमा पनि नमुना कक्षा कोठा बनाईएको छ । जसका कारण सामुदायिक विद्यालय सुधारमा अभिभावकको जिम्मेवारी र बालबालिकाको आर्कषण बढेको छ । भने बालबालिकाको सिकाईमा पनि उल्लेखीय बृद्धि भएको छ ।’

‘पेश नेपालले मार्फत मोडेल कक्षा संचालन संगै अभिभावक शिक्षामा जोड दिएपछि सामुदायिक विद्यालय सुधारमा अभिभावकको जिम्मेवारी र विद्यालयमा बालबालिकाको आर्कषण बढ्दै गएको छ । संस्थाले गरेका नयाँ अभ्यासको पालिकाले निरन्तरता दिन आबश्यक छ ।’

मोडेल कक्षा अन्तरर्गत पेश नेपालले बालमैत्री कुर्ची,राउण्ड टेबुल,कार्पेट,पिपिफर्म,कूसन, खेलकुद सामाग्री लगायतका शैक्षिक सामाग्री तथा शिक्षकलाइ शिक्षण विधि बारे पटक पटक तालिम समेत प्रदान गरिएको कालिका माविका प्रधानाध्यापक शाहीले कर्णाली मिसनलाई जानकारी दिए । उनका अनुसार मोडेल कक्षा निर्माणका लागि पेश नेपालमार्फत तीन लाख ७५ हजार बराबरको सामाग्री सहयोग प्राप्त भएको छ ।

१० विद्यालयमा मोडेल कक्षा
दुर्गमका सामुदायिक विद्यालय सुधार तथा प्रारम्भीक बालविकासमा जोड दिन पेश नेपालले शिक्षामा पनि लगानी गर्दै आएको छ । विशेषगरी सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका १० वटा सामुदायिक विद्यालयको आधारभूत तहमा मोडेल(नमुना कक्षा) निर्माणका लागि लगानी गरेको छ ।

पेश नेपालले प्रत्यक विद्यालयलाई मोडेल कक्षा बनाउन अनुमानित चार लाख बराबरको सहयोग गरेको छ । जसमा हिमा गाउँपालिकाका कालिका मावि बड्की,भानु मावि पाथरखोला,राहदेव मावि मोफ्ला,महादेव आधाभूत विद्यालय र भैरब आधारभूत विद्यालयमा नमुना कक्षा संचालन भएको छ ।

सिंजा गाउँपालिकाको कैलाश मावि फुंग्र,जनज्योती आधारभूत र जोडु माध्यमिक विद्यालय भाडगाउँमा मोडेल कक्षा संचालन गरी बालबालिकालाई पठकपाठन गरिदै आएको छ । भने,कनकासुन्दरी गाउँपालिकाको गोरुचौर आधारभूत विद्यालय र भैलपाटा आधारभूत विद्यालयमा नमुना कक्षा संचालन भएको पेश नेपाल जुम्लाले जानकारी दिएको छ ।

जलवायू अनूकुलन,पूर्वाधार विकास सामाजिक रुपान्तरण तथा शसक्तिकरण,जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको पेश नेपालले प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा संचालित आधार परियोजना मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।

उनले भने,‘शिक्षा क्षेत्रमा सुधार नल्याइ पूर्वाधार विकासको कुनै अर्थ छैन् । घर बलियो हुन जग बलियो हुनु पर्छ । भविष्यमा दक्ष जनशक्ति बनाउनका लागि आधारभूत तहबाटै व्यवहारिक तथा गुणस्तर शिक्षामा दिनुपर्छ भन्ने मनसायले शिक्षामा लगानी गरेका छौ । मोडेल कक्षा संचालनपछि बालबालिकाको आर्कषण बढेको पाएका छौ ।’

पेश नेपालले गरेको नयाँ अभ्यासलाई संस्थागत गर्न र निरन्तरता दिन स्थानीय सरकारले आबश्यक नीति निर्माण र प्रयाप्त लगानी गरेको खण्डमा सामुदायिक विद्यालय सुधारमा टेवा पुग्ने देखिन्छ ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस