हिमा– १ देवारगाउँका ७० घरमा एकघर,एकधारा,स्थानीय उत्साहित

जुम्ला । पाँच वर्षभित्र हिमाका सबै घरधुरीमा शुद्ध खानेपानी पुराउने लक्ष्यका साथ हिमा गाउँपालिकाले खानेपानी विकासलाई तिब्रता दिएको छ । ०८४ पछि आउने जनप्रतिनिधिले खानेपानीमा कामै गर्नु नपर्ने गरी हिमा गाउँपालिका र सुस्वा परियोजनाको लगानीमा गाउँ गाउँमा शुद्ध खानेपानी विकासलाई तिब्रता दिइएको छ ।

जसअन्तरर्गत हिमा गाउँपालिका वडा नं.१ देवारगाउँका ७० घरधुरीमा एकघर,एकधारा निर्माण गरिएको छ । नेपाल सरकार,फिनल्यान्ड सरकार, युरोपियन युनियन र हिमा गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालित दिगो खानेपानी सरसफाइ तथा स्वछता (सुस्वा) परियोजना अन्तर्गत हिमा–५ देवारगाउँ तल्लो बस्तीका ७० घरमा नयाँ शुद्ध पानीका धारा निर्माण गरिएको हो ।

आँगनमै धारा पुराएर गाउँपालिकाले बुधबार समुदायलाई हस्तान्तरण गरेको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले खानेपानी आयोजना उद्घाटन संगै समुदायलाई हस्तारण गरेका छन् ।

खानेपानी विकासमा जिल्लामै नमुना काम गरिरहेकोले हिमाले पाँच वर्षमा हिमाका सबै घरधुरीलाई शुद्ध पानीको पहुँच पुराउने अभियानको थालनी गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुरर शाहीले बताए । उनका अनुसार ७० घरधुरी लाभान्वित हुने देवारगाउँको खानेपानी आयोजना समुदायलाई हस्तान्तरण समेत गरिएको छ ।

हिमा सात वटै वडाका २३ सयबढी घरधुरीमा शुद्ध खानेपानी धारा पुराउन विशेष प्रथामिकताका साथ काम भईरहेको छ । मानव जीवनको आधारभूत आबश्यकतामा पर्ने खानेपानी विकासमा हिमाले गरेको उल्लेखीय उपलब्धीलाई जिल्लाकै नमुना कार्यका रुपमा समेत लिन सकिन्छ ।

यता सुस्वा परियोजनाका संयोजक सुमिता शाहीले बुधबार देवारगाउँ खानेपानी तथा सरसफाई योजना र कालिका आवि शौचालय उद्घाटन तथा समुदायलाई हस्तान्तरण गरिएको बताईन् । उनका अनुसार पालिकाको समन्वयमा सुस्वाले खानेपानी,सरसफाई,स्वच्छता,क्षामता विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

घर आँगनमै शुद्ध खानेपानीको धारा पुगेपछि देवारगाउँबासी उत्साहित भएका छन् । वर्षौदेखि खोलाकै दुषित पानी पिउनु पर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीय उत्साहित भएका हुन् ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस