जुम्ला । पातारासी गाउँपालिका वडा नं. १ स्थित डलिगाड (ठुलो खोलामा) निर्माणधिन पुरानो कल्भट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । भने तीन जना घाईते भएका छन् । डलिघाट खोलामा पहिले निर्माण भएको कल्भट भत्काउने क्रममा च्यापिएर पातारासी १ कै ५३ वर्षिय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता उमेश चन्दले बताए ।
उनका अनुसार तीन जना घाईते भएका छन् । घाईते हुनेमा पातारासी– १ कै ४१ वर्षीय कर्ण ऐडी,१८ वर्षीय शुरेस बुढा र १६ वर्षीय धन ऐडी घाईते भएको प्रवक्ता चन्दले कर्णाली मिसनलाई जानकारी दिए ।
निर्माणधिन कल्भट भत्कीएपछि कामदार रुपमा रहेका एकको मृत्यु तीन घाईते भएको उनको भनाई छ । घाईते तीनै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको र अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाको खबर हुने वित्तिकै पातारासी गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकाया त्यहाँ पुगेका थिए । गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले कल्भट निर्माणदेखि भत्काउने क्रममा लापारबाहि भएका कारण घटना भएको बताए ।
उनले भने,‘त्यो प्रदेशको योजना हो । पालिका संग कुनै समन्वय सहकार्य नगर्दा गुणस्तर देखि नियमित अनुगमन निरिक्षणको जिम्मेवारी हाम्रो छैन् । तर समस्या आएपछि स्थानीयले हामीलाई घेर्छन् ।संघ प्रदेशका योजना निर्माण गर्दा निकै सजक हुनु पर्ने देखियो ।’
मृत्तकलाई क्षतिपुर्ति तथा घाईतेको उपचारमा पालिकाले सहयोगबारे छलफल गरिने उल्लेख गरे ।
यता पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले अगाडी बनाएको संचरना स्टमेटअनुसार नभएपछि भत्काएर पुनः निर्माण गर्न लगाइएको बताए । कहिले भत्काउने भन्नेबारे अफिसमा आधिकारीक जानकारी नभएको र भत्काउने क्रममा दुखद घटना भएको खबर पाएपछि मात्रै थाहा भएको उनको भनाई छ ।