कविता- पुरानो कोट

पुरानो कोट
कैले कोठाको कुनै कुनाबाट हेर्छ
कैले पोका पुन्तरा भित्रबाट हेर्छ
कैले कुनै बक्सा वा थैलाभित्र बाट पनि हेर्छ
कैले टेबल मुनि वा माथि बाट पनि हेर्छ
ऊ टुलुटुल हेर्छ
केवल मलाई हेरिरहन्छ ।

मेरो पुरानो जिन्दगिको
एउटा असल साथी
पुरानो सम्झनाको
एउटा जिवित प्रमाण
अनि मेरो इतिहासको ज्ञाता
त्यो पुरानो कोट,
अहिले भने
अलिकति मैलो भएको छ
मधुरो भएको छ
मधुरानो भएको छ
अनि हिजोआज उसको
अलिकति रंग पनि उडेको छ ।

साँच्चै भन्दा,
समयसँगै चल्नुपर्ने मेरो विवसता,
र समयसँग चल्न नसक्नु उसको वाध्यता,
उही नै ऊ र म विचको पर्खाल,
यो कुरा उसले राम्ररी बुझेको छ,
र ऊ चुपचाप छ,
ऊ मौन छ ।

त्यसैले त,
बारम्बार ऊ
सिमान्तकृत बन्दै गएको छ
बहिस्करणमा पर्दै गएको छ
जोखिममा पर्दै गएको छ
अस्थित्वको लागि सघर्षरत छ ,
र लोप हुने खतरामा छ,
त्यो पुरानो कोट ।
– कल्याल राजा ‘डी.बी’ जुम्ला

उनले विगत लामो समयदेखि कविता, गीत , गजल, मुक्तक लगायतका साहित्यका विभिन्न विधामा निरन्तर रुपमा कलम चलाई योगदान गर्दै आएका छन । उनले विश्वास छैन प्रिय तिम्रो, बसेर पिपल चौतारी लगायतका गीतहरूमा सङ्गीत भरेका छन । उनका गीतहरू प्रख्यात गायक/गायिका सुरज पण्डित, मेलिना राई लगायतले स्वर भेरेका छन। उनी हाल कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत छन् ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस