सर्रे खोलाको बाढीबाट फसेका स्वास्थ्यकर्मीको सकुशल उद्दार

सिरहा : लहान नगरपालिका-२४ झुटकी गाउँका ४० वर्षीय अरुण चौधरीलाई सर्रे खोलाको बाढीबाट प्रहरीले सकुशल उद्धार गरेका छन् । चौधरी लहान नगरपालिका-९ खुट्टीपारी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

उनी कार्यालय जाने क्रममा गाउँ छेउकै सर्रे खोलामा अचानक आएको बाढीमा फसेका थिए । उनी खोलाको बीच भागमा पुगेपछि बाढी आएपछि फसेका थिए।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णु सोतिका अनुसार खोलामा फसेको खबर पाएपछि तुरुन्तै प्रहरी घटना स्थलमा पुगेको थियो । दुई घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको उनले जानकारी गराए । उद्धार कार्यमा स्थानीयवासी, सशस्त्र प्रहरी पनि सहयोग गरेका थिए।

यो खोलामा पुल निर्माण नहुँदा झुटकी, खेस्राहा, डाँडाटोल, रन्हालगायत स्थानीयहरू मारमा परेका छन् । बाढी आउँदा गाउँको आवतजावत नै ठप्प हुन्छ । पुलको ठेक्का लागे पनि काम सुरु भने भएको छैन ।
 अन्नपूर्ण

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस