चन्दननाथका पाँच जना महिला स्वयम् सेविकालाई सम्मान

जुम्ला – चन्दननाथ नगरपालिका भित्रका पाँच जना महिला स्वयंसेविकालाई सम्मान गरिएको छ । बुधबार एक कार्यक्रमका बीच उमेरले ६० वर्ष नाघेका महिला स्वयम् सेविकालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा चन्दननाथ नगरपालिका – ७ की पदमकली रावल, वडा नं. ४ की कुईरी खत्री, वडा नं. १० की कृष्णकला न्यौपाने, तुथकला शाही र कालिका भण्डारी रहेकी छन् ।
उनीहरुलाई प्रमाणपत्रसहित दोसल्ला र नगद दुई हजार रुपियाँ प्रदान गरी सम्मान गरिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी उषादेवि रावलले बताईन् । उनले भनिन् नगरपालिका भित्र ९० जना महिला स्वयम् सेविका रहेकी छन् । ६० वर्ष नाघेका महिला स्वयम् सेविकालाई कर्णाली प्रदेश सरकारले सेवा गरेबापत जनस्वास्थ्य कार्यालय मार्फत अन्तिममा २० हजार रुपियाँ पनि प्रदान गर्ने व्यवस्था रहेको छ ।
चन्ददननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार महिला स्वयम् सेविकाको गाउँबस्तीमा स्वास्थ्य सम्वन्धी सचेतीकरण गर्ने जस्ता जिम्मेवारी रहेका हुन्छ ।
उनले भने विभिन्न खोप कार्यक्रमका विषयमा गाउँबस्तीमा सहजीकरण गर्ने, प्रथामिक उपचारका लागि स्वास्थ्य चौकीमा जान प्रेरित गर्ने, परिवार नियोजनका विषयमा सचेतीकरण गर्ने जस्ता कार्य महिला स्वयम् सेविकाको जिम्मेवारी रहेको हुन्छ । महिला स्वयम् सेविकाले महिना भरी गरेका गतिविधि तथा क्रियाकलाप समेटिएको प्रतिवेदन तयार गरी सम्वन्धित स्वास्थ्य चौकीमा बुझाउने गर्दछन् ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस