अन्तरपुस्ता संवाद:’उहिलेकाे बालविवाह,अहिलेकाे पछुताे’

जुम्ला । कनकासुन्दरी-६ लाहार्ज गाउँकी देउरूपा कामी ५० वर्षकी भइन् । उनी तीन सन्तानकि आमा हुन् । देउरूपाका तीन छाेरा छन् । उनकाे १३ वर्षकाे कलिलाे उमेरमै विवाह भएकाे थियाे । जतिबेला उनी एकपटक मात्र रजस्वला भएकी थिईन् ।

सानै उमेरमा विवाह गरेका कारण उनी अहिले पक्षतापमा छन् । माइतीकाे गरिबी आर्थिक अवस्था नाजुक भएका कारण बालविवाह गरेर शिक्षा,राेजगारकाे अबसरबाट बन्चित भएकी उनी निकै पछुताेमा छन् ।

उनी भन्छन,’पहिला देखासिकि,अशिक्षा,बा आमाकाे करकापतले सानैमा विवाह गरियाे । अहिले सबै क्षेत्रबाट बन्चित भैईयाे ।’

अन्जानमा बालविवाह गरेर पश्चतापमा रहेकी देउरूपा भुलेरपनि अरुलाई बालविवाह नगर्न सुझाउन थालेकी छन्
त्यस्तै कनकासुन्दरी -६ कै एकुमाया हमालले पनि १३ वर्षकै उमेरमै विवाह गरेकी थिईन् । ४० वर्षीया हमाल १७ वर्षकाे उमेरमै पहिलो सन्तानकाे आमा बनिन् । आफूले बालविवाह गरेकाे भएपनि अरू बालविवाह नगर्न आग्रह गर्छिन् । उनी पनि अहिले उहिले गरेकाे बालविवाहका कारण पश्चतापमा छन् ।

आफुले सानैमा विहे गरेपनि तीन सन्तानकी आमा हमाल २० वर्ष पुगेर भन्दा पनि सक्षम भएर मात्रै छाेरा छाेरीलाई विवाह गर्न लगाउने बताउँछिन् ।

साेही गाउँकी निरमाया हमालकाे भाेगाई भने बेग्लै छ । उनकाे २० पुगिसकेपछि प्रेम विवाह भएकाे थियाे । उनले पढ्दा पढ्दै विहे गरिन् । तर अहिले बीचमै पढाइ छाेडेर बिहे गरेकाेमा निकै दुखित छन् । उनी भन्छन्,’संगैका साथी पढीरहेका छन् । म भने दुई बच्चाकाे आमा बने । अहिले ठुलाे पश्चाताप छ । अशिक्षा गरिबीले गर्दा बढ्दाे बालविवाह राेक्न अब सबै जुट्नु पर्छ ।’

गाउँघरमा चेतनाकाे विकास भएपनि गरिबी अन्त्य नहुँदा विपन्नलाई उत्पादन संग नजाेड्दा बालविवाह ज्युँका त्युँ रहेकाे उनकाे भनाई छ । बालविवाह न्युनिकरणका लागि नीतिगत क्षेत्रमा जाेड दिनु पर्ने उनकाे भनाई छ ।

कनकासुन्दरी-६ का देउरूपा,एकुमाया,भुल्लाे र निरमाया त प्रतिनिधि पात्र मात्र हुन् । उक्त गाउँका अधिकांशले बालविवाह गरेका थिए । उनीजस्तै कनकासुन्दरीका सयाै महिला विगतमा गरेकाे बालविवाहले अहिले पछुताेमा छन् ।

आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले बाल विवाह न्युनिकरणका लागि विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएपछि बालविवाहले हुने हानी नाेक्सानीबारे सचेत भएका छन् । जसका कारण गाउँका किशाेर किशाेरीलाई समेत बालविवाह नर्गन सम्झाउन थालेका छन् ।

शुक्रबार लाहार्ज गाउँमा आयाेजित अन्तरपुस्ता संवादमा सहभागीहरूले भने,`बालविवाह कानुन अपराध रहेछ । हामी पछुतायाै । अरूकाे पनि हुन दिन्नाै ।´

पछिल्लाे समय गाउँलेहरू बालविवाह विरूद्व सक्रिय हुन थालेका छन् । केही संख्यामा बालविवाह राेकेका समेत उदाहरण छन् । उसाे त सिंगाे कनकासुन्दरी नै जिल्लामै सबैभन्दा बढी बालविवाह हुने क्षेत्रमा पर्छ ।

आ.व. २०७७/०७८ मा कनकासुन्दरीमा २० वर्ष उमेर नपुगेका मात्रै ९० जना आमा भएका थिए । एक तथ्यांक अनुसार कनकासुन्दरीमा वर्षेनि २० प्रतिशत बालविवाह हुने गरेकाे छ।

प्लान इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग र आत्मसम्मानका लागि सहकार्य (क्याड )द्वारा सञ्चालित अन्तरपुस्ता कार्यक्रम अन्तरर्गत अन्तरपुस्ता कार्यक्रम सम्पन भएकाे हाे । क्याड नेपालले सिंजा क्षेत्रका तीन वटा स्थानीय तहमा बालविवाह न्युनिकरणका क्षेत्रमा काम गर्दै आएकाे छ ।

प्रकाशित मिति : २०८१ साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस