तिलामा गाउँपालिकामा काँचो स्याउ टिप्न र निर्यात गर्न रोक

निर्णय कार्यान्वयनमा सधै चुनाैती

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ टिप्न निर्यातमा रोक लगाएको छ । साउन दोस्रो तेस्रो साताबाट जुम्लाको काँचो स्याउ लुकिछिपी बाहिरी जिल्लामा लिने भएकोले काँचो स्याउ टिप्न निर्यात गर्नमा रोक लगाएको हो ।

साेमबार सूचना जारी गर्दै भदाै ५ गते अघि स्याउ नटिप्न र निर्यात नर्गन स्याउ किसानलाइ तिलाले आग्रह गरेकाे छ ।
अर्गानिक स्याउ उत्पादनको केन्द्र मानिएको जुम्लाबाट किसान र व्यापारीले क्षणिक लाभका लागि काँचो स्याउ बजारमा लिने गरेका छन् । जसका कारण अर्गानिक तथा स्वादिष्ट स्याउको परिचय पाएको जुम्लाको पहिचानै खतरामा पढ्ने गरेको छ ।

मोटो रकम नाफा खाने दाउँमा जुम्लाबाट हरेक वर्ष काँचो स्याउ निर्यात हुने गरेको छ । तर यसवर्ष तिला गाउँपालिकाले आगामी भदौ पहिलो साताभन्दा अगाडी स्याउ टिप्न रोक लगाएको छ ।

गाउँपालिकाको निर्णयनुसार भदौ ५ गतेभन्दा अगाडी स्याउ संकलन तथा निकासीमा रोक लगाएको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जग बहादुर बस्नेतले बताए ।

उनले भने‘तिलाका १ देखी ९ वटा वडाकै स्याउ किसानलाई काँचो स्याउ नटिप्न अनुरोध गरेका छौ । प्रत्यक्ष निगरानी पनि राख्ने छौ । अटेरी गरेर कसैले काँचो स्याउ निकासी गर्न खोजे पालिकाले कारबाही गर्ने छ ।’

जुम्लाबाट सबैभन्दा अगाडी तिलाबाटै स्याउ निर्यात हुने गरेको छ । भदौ पहिलो सातापछि  कृषि विकास शाखाको र वडाको सिफारिस लिएर मात्र स्याउ जिल्ला बाहिर निर्यात गर्न मिल्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत बस्नेतले उल्लेख गरे।

स्याउले भर्खर कलर हालेर गुलियोपना भरिदैँ छ । तर गाउँ गाउँमा व्यापारी पुगिसकेका छन् । किसान पनि राम्रो मुल्य पाईने सोचमा विक्री गर्ने मनसायमा छन् । हरेक वर्ष काँचो स्याउको निर्यात रोक्ने छलफल र निर्णय भएपनि रोक्न भने चुनौती देखिएको छ ।

पछि राम्रो मुल्य नपाईने र घरमै थन्काएर राख्नु पर्ने बाध्यताले छिटै टिपेर निर्यात गर्ने गरेको किसानको भनाई छ । यदपी,स्थानीय सरकारले स्याउ खरिदको जिम्मा लिएको खण्डमा असोज सम्म पनि बोटमै राख्न तयार रहेको किसान बताए ।

जुम्लाका करिब १९ हजार घरधुरी स्याउ खेती गरीरहेको सरकारी तथ्यांक छ । यहाँका आठै पालिकामा स्याउ खेती हुन्छ । तर अधिकांश किसानलाई स्याउ बगैचा व्यवस्थापनबारे ज्ञान नहुँदा श्रमनुसारको लाभ लिन सकेका छैनन् ।

भने स्याउ किसानलाई ढुवानीमा सहुलियत देखी मलजल तथा बगैचा व्यवस्थापनबारे स्थानीयतहले पनि प्रयाप्त सिप सहित प्रविधि दिन सकेको छैन् ।

जुम्लामा ग्रेडिङ मेसिन पनि छैन् । जसका कारण जुम्लाको स्याउ हचुवामै विक्री हुने र करोडौ आम्दानी गर्न सकिने सम्भवना भएपनि किसानले घाटा खानु पर्ने बाध्यता छ ।

प्रकाशित मिति : २०८१ साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस