
जुम्ला – तातोपानी गाउँपालिका – ५ ऐरेनीस्थित दुर्गा माध्यामिक विद्यालय लाम्राका किशोरकिशोरी, बालबालिकासँग मर्यादित महिनावारीका विषयमा छलफल गरिएको छ । यस विद्यालयका दिपाव बालक्लवका पदाधिकारीसँग विहिबार मर्यादित महिनावारीका विषयमा छलफल गरिएको हो ।
मर्यादित महिनावारी ब्यवस्थापन र महिनावारी बिभेद सम्बन्धि मासिक बैठकमा ४÷४ घण्टाको अन्तरालमा प्याड बदाल्ने, सरसफाई गर्ने विषयमा छलफल भएको परियोजना अधिकृत देवकी खड्काले बताइन् । उनले भनिन् धारोपधेरामै नुहाउने भन्ने विषय पनि छलफल गरियो ।
एम्पलिफाइचेन्ज, राधा पौडेल फाउण्डेसन र पेस नेपाल जुम्लाको साँझेदारीमा तातोपानी गाउँपालिकाको २, ५ र ६ नम्बर वडामा यौन तथा प्रजनन् स्वास्थ्यको लागि मर्यादित महिनावारी परियोजना सञ्चालन रहेको छ ।
गाउँपालिकाको ३ वटा वडामा ३ वटा बुवा समुह, १० वटा आमा समुह र दुई वटा बालक्लवमा यौन तथा प्रजनन् स्वास्थ्यका लागि मर्यादित महिनावारीका विषयमा छलफल हुने गरेको छ ।
यस्तै विद्यालय व्यवस्थापन समितिको पदाधिकारी र सरोकारवाला निकायसँग पनि छुईप्रथालाई कसरी अन्त्य गर्न सकिन्छ र महिनावारीलाई मर्यादित कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत भएर परियोजनाले काम गर्ने गरेको अधिकृत खड्काले बताइन् ।
उनले भनिन् प्रजनन् स्वास्थ्य, परिवार नियोजन, एचआईभी जस्ता विषयमा पनि पालिकाभित्रका स्वास्थ्य चौकीमा छलफल गर्ने गरिएको छ । प्रहरी चौकीमा बालविवाह न्यूनिकण र महिला हिंसाका विषयमा छलफल हुने र त्यही अनुसार कार्यन्वयन गर्ने गरिएको छ ।