ओली मन्त्रिमण्डलमा दलित समुदायबाट पहिलो मन्त्रीको प्रवेश

केपी शर्मा ओली नेतृत्वको अहिलेको संघीय सरकारमा गत असार ३१ गते २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्दा दलित समुदायको प्रतिनिधित्व शून्य थियो।

मुलुकको १४ प्रतिशत जनसंख्या भएका दलित समुदायलाई मन्त्रिपरिषदमा छुटाइएकोमा आलोचना भएको थियो।

प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन्। जसमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य रूपा विक पनि वन तथा वातावरण राज्यमन्त्री बनेकी छन्।

विक पाल्पाकी हुन्। उनी कांग्रेसको २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य छिन्। 

रूपा पार्टीभित्र सभापति शेरबहादुर देउवानिकट छिन्। आफूलाई राज्यमन्त्री बनाइएको खबर आएको उनले बताइन्। ‘आजै शपथ लिने कुरा छ, शपथ लिएपछि थप कुरा गर्छु,’ उनले भनिन्।

उनी २०४२ असोज २३ गते पाल्पामा जन्मिएकी हुन्। २०५९ सालदेखि उनी कांग्रेसमा सक्रिय रूपमा लागेकी थिइन्। त्‍यसअघि नेविसंघ, महिला संघ लगायतमा पनि सक्रिय थिइन्। 

कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, नेपाल दलित संघको चौथो अधिवेशनबाट केन्द्रीय सदस्य पनि भएकी थिइन्।

महिला र दलित समुदायप्रति गरिने विभेदविरूद्ध उनले सक्रिय भूमिका खेल्दै आएकी थिइन्।

सेतोपाटीबाट साभार

प्रकाशित मिति : २०८१ साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस