जुम्ला -गोदाममा चामलको मौज्दात न्यून रहेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले साउन ९ गतेदेखि अनुदानको चामल सर्वसाधरणलाई वितरण कार्य वन्द गरेको थियो । गोदाममा न्यून मात्रमा मौज्दात रहेको मोटा चामल मात्रै साउन २० गतेदेखि वितरण सुरु गरेको छ । मसिनो चामल खाद्यमा मौज्दात छैन । यतिबेला संस्थानको चामल ढुवानी भएको छैन । चालु आर्थिक वर्षका लागि कम्पनीले चामल खरिदका लागि टेण्डर गरेको छ ।
यही बेला बजारमा चामलको मुल्य निकै आकासियको देखिन्छ । उपभोक्ताले निकै रुचाएको आश्रीवाद चामल (२५ किजी) प्रतिबोरा दुई हजार ७५० रुपियाँमा विक्री गर्ने गरिएको छ । जुम्ला बजारका होलसेलवाला ठुला व्यापारीले नै दुई हजार ७५० रुपियाँमा विक्री गर्ने गरेका छन् ।
यस्तै दैनिक उपभोग्य सामग्री तेल, चिनीदेखि सवै थोक बजारमा महंगिएको छ । यसमा सवै भन्दा बढी विक्री वितरण हुने चामल हो । यही मसिनो चामल कम्पनीले वितरण बन्द गर्नु र बजारमा महंगो हुनुले दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने नागरिक निकै मर्कामा परेका छन् ।
चन्दननाथ नगरपालिका – ८ का बलबहादुर दमाईले भने, लुगा सिलाएर दैनिक ४÷५ सय रुपियाँ पनि ज्याला आउदैन । खाद्यमा चामल पाईदैन । बजार मुल्य दिनप्रतिदित बढिरहेको छ । हामी जस्ता दैनिक ज्याला मजदुरी गरी खानेका लागि निकै समस्या भएको छ ।
व्यापारीहरुका छाता संगठन उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार मुल्य बृद्धिका विषयमा व्यापारीसँग बुझेका छौँ । उनले भने, उत्पादन नै कम भएकोले चामलको मुल्य बृद्धि भएको देखिन्छ । दुई हजार ५५० रुपियाँमा बेचिने आश्रीबाद चामल २५ केजीको एक महिना अघि दुई हजार ६५० रुपियाँ र अहिले दुई हजार ७५० रुपियाँ पुगेको रहेछ । यसमा व्यापारीले धेरै नाफा लिएको देखिएको छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखामा अहिले जम्मा एक हजार चार सय कुन्टल चामल मौन्दात रहेको छ । गएको आर्थिक वर्षमा जिल्लामा नौँ हजार कुन्टल चामलको कोटा रहेको थियो । अहिले चामल कम्पनीको गोदाममा अपुग रहेको छ । भदौ दोस्रो सातासम्म चामल पुग्ने भएकोले सहज तरिकाले वितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका सुचना अधिकारी लक्ष्मण शर्माले बताए ।
जिल्लाको सिंजा क्षेत्रमा पर्ने धाँपा र तिला गाउँपालिकाको जुम्लाकोट डिपोबाट समेत चामल वितरण हुने गरेको छ । अहिले कोटा निर्धारण नहुदाँ डिपोबाट चामल बिक्री वितरण बन्द भएको छ । कम्पनीले यहाँका तीन विक्री केन्द्र हिमा गाउँपालिकाको बाजागाँडा, पातारासी गाउँपालिकाको लुम्मसमेत चामल वितरण हुने गरेको छैन ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार खाद्यको गोदाममा चामल मौज्दात न्यून छ । चालु आर्थिक वर्षका लागि खरिद प्रक्रिया चलिरहेको छ । थप कोटा माग गरेका छौँ । उनले भने बजार मुल्य बुद्धिका विषयमा अनुगमन गर्ने छौँ ।
खाद्यमा चामल पाईदैन, बजारको चामल छुई सक्नु छैन
व्यापारी भन्छन् उत्पादनमा कमी आएपछि मुल्य बृद्धि
प्रकाशित मिति : २०८१ साउन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस