पहिरोले कर्णाली राजमार्ग अबरुद्ध,सयौ यात्रु अलपत्र

जुम्ला । अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग अबरुद्ध भएको छ । हिजोराती देखि लगातार परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग विहानैदेखी अबरुद्ध भएको हो । कालीकोटको शुभकालिका गाउँपालिका –१ गगनलेखोला,एसमोड,कालेखोला लगायतका स्थापनामा साना ठुला पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ ।

विहानैदेखी राजमार्ग अबरुद्ध भएपछि जुम्ला मुगुबाट सुर्खेत,नेपालगन्ज काठमान्डौँ जाने यात्रु बाहक तथा मालबाहक गरी सयौ सवारी तथा यात्रुहरु अलपत्र परेका छन् । गगनेखोलामा ठुलो ढुंगा सहितको लेदो माटोको पहिरो आउँदा सडक अबरुद्ध भएको र विहानैदेखी पहिरो पन्छाउने कार्य जारी रहेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटिले बताए ।

उनले भने,‘सबैभन्दा ठुलो ढुंगा सहितको पहिरो गगने खोलामा आएको छ । ४÷५ किमीको दुरीमा अन्य स्थानमा पनि पहिरो गएको बुझिएको छ । गगने खोलाको ढुंगालाई पन्छाउने र सम्भव नभए ब्रेकर लगाएर फुटाल्ने तयारी छ ।’ गगनेखोला बाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने बेला सम्म धेर्य गरिदिन समेत सूचना अधिकारी जीटिले सबै यात्रुलाई आग्रह गरेका छन् ।

सडक डिभिजनको मेसिन सहित जनशक्ति विहानै ६ बजेदेखी पहिरो पन्छाउन जुटेका छन् । यदपी,ढुंगा ठुलोनै भएकोले पहिरो पन्छाउन भने समय लाग्ने देखीएको छ । गोगने खोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्ग ठप्प छ । कालीकोटबाट सुर्खेत जाने यातायातका साधनलाई प्रहरीले हुल्मबजारमा रोकेको छ ।

दैलेख प्रहरीले राकम कर्णालीमै यातायातका साधन रोकेको छ । यात्रुलाई खान बस्न समस्या नहुने भनी बजार क्षेत्रमै यात्रुलाई रोकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस