जुम्ला कारागार कैदीवन्दीलाई पुस्तक

जुम्ला – जुम्ला कारागारका कैदीवन्दीलाई पुस्तक वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमति संघको ४० औँ बार्षिक उत्सवको अवसरमा कारागारका कैदीवन्दीलाई पुस्तक वितरण गरिएको हो ।
पुस्तक अध्ययन गरेर कैदीवन्दीको ज्ञान बृद्धि गर्नुका साथै सकारात्मक सोचको विकास गर्नका लागि पुस्तक वितरण गरिएको प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले बताए । उनले भने कारागारमा पुस्तकालय पनि रहेको छ । पुस्तकालयमा नयाँ पुस्तक थप्नुका साथै नयाँ पुस्तकबाट कैदीवन्दीले नयाँ ज्ञान लिन पनि हो ।
२० हजार रुपियाँ बराबरको २३ प्रकारका ३० थान पुस्तक र खेलकुदका सामग्री हस्तान्तरण गरिएको उनले बताए ।
पुस्तक अध्ययनले मानिसलाई ज्ञान आर्जन हुने गरेकोले कारागारका कैदीवन्दीलाई पुस्तक उपलव्ध गराउनु सुखद पक्ष रहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । उनले भने ठुला विद्दुवानले पनि पुस्तक अध्ययन गरेर विद्धुवान भएका हुन् । पुस्तक अध्ययनले हरेक नागरिकको सोच सरात्मक हुने गर्दछ । जोकोही नागरिकले पुस्तक अध्ययन गर्न आवश्यक छ ।
कैदीवन्दी पनि नागरिक हुन् । उनीहरुलाई पनि ज्ञान लिन आवश्यक छ । पुस्तक अध्ययनले कैदीवन्दीलाई ज्ञान प्राप्त हुनुका साथै जीवनशैली पनि परिवर्तन हुने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए ।
कारागारको पुस्तकालयमा धेरै प्रकारका ८ सय बढी पुस्तक रहेको जेलर जयाप्रसाद पाण्डेले बताए । उनले भने यस कारागारमा पाँच जना महिलासहित १२३ जना कैदीवन्दी रहेका छन् ।
२०७५÷७६ सालतिर तत्कालिन कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले कारागारमा पुस्तकालय अभियान थालेका थिए । त्यतिबेलाको अभियानदेखि कारागारमा पुस्तक थपिदै ८ सय बढी पुस्तक पुगेका हुन् ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस