तिलामा काँचो स्याउ बेच्ने तयारी गरेका व्यापारीका गोदाम सिल

लुकिछिपी रातारात लिदै काँचो स्याउ,निर्णय कार्यान्वयनमा आक्रमक बन्दै पालिका

जुम्ला । काँचो स्याउ बेच्ने तयारी गरेका व्यापारीको गोदाम सिल गरिएको छ । जुम्लाको तिला गाउँपालिकाले परिपक्क नहुँदै गाउँपालिकाको निर्णय विपरित काँचो स्याउ बेच्ने व्यापारीको स्याउ राखेको गोदाम सिल गरेको हो ।

विहिबार गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा गएको सुरक्षाकर्मी सहितको टोलीले तिला १ सेरी बजारमा रहेका चार वटा स्याउका गोदाममा सिल गरिएको छ । यसअघि तिला गाउँपालिकाले १३ साउनमा आगामी भदौ ५ गते भन्दा अगाडी स्याउ टिप्न र निर्यात गर्न नपाउने सूचना जारी गरेको थियो ।

तिला गाउँपालिका कार्यपालिकाको निर्णय,कृषि विकास कार्यालयको परिपत्रनुसार काँचो स्याउ टिप्न र निर्यात नगर्न साउन दोस्रो सातानै गाउँ गाउँमा सूचना गरिएको थियो । तर गाउँपालिकाको निर्णय र सूचनाको ठाडो उल्घन गर्दै किसान र व्यापारीको मिलेपत्तोमा लुकीछिपी काँचो स्याउ निर्यात गरेको गुनासो आएपछि विहिबार उपाध्यक्ष बुढा,निमित्त प्रमुख प्रशासकिय अधिकृत लालचन्द्र बुढा सहितको टोलीले स्याउका गोदाममा ताला लगाएको हो ।

यदपी यसअघि लुकीछिपी तिला ७ को स्याउ दुई ट्रक निर्यात भईसकेको छ । उक्त वडाको स्याउ निर्यात भएपछि वडा नं. १ राराका किसानले धमाधम काँचो स्याउ टिपेर निर्यात गर्न प्याकिङ लागेको अबस्थामा पालिकाले गोदाम सिल गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताईन् । उनका अनुसार विहिबार चार वटा गोदाममा सिल गरिएको छ । भने तीन वटा गोदाममा शुक्रबार (आज) सिल गरिने छ ।

जसमा व्यापारी पार्वती बुढाको १४२ कार्टुन राखिएको गोदाम,तिला ९ का कमल बुढाको ३९ कार्टुन राखिएको गोदाम,तिला १ का गोरख बहादुर बस्नेतको ४० कार्टुन राखिएको गोदाम र तिला २ का जग रावतका ४० कार्टुन राखिएको गोदाममा पालिकाले ताला लगाएको उपाध्यक्ष बुढाले जानकारी दिईन् ।

उनले भनिन,‘बाँकी तीन गोदामका व्यापारीसंग समन्वय गरी ताला लगाईने छ । पालिकाले भदौ ५ गते भन्दा अगाडी स्याउ टिप्न र निर्यात गर्न रोक लगाउँदा पनि अटेरी गरेर निर्यात गरेको पाइएपछि सिल गरेका हाैँ । भदौ ५ भन्दा अगाडी सिफारिस पनि नदिने र निर्यात पनि हुन नदिने अडानमा छौ ।’

निमित्त प्रमुख प्रशासकिय अधिकृत लालचन्द्र बुढाले जुम्लाको पहिचान र आर्थिक समृद्धी संग जोडिएको अर्गानिक स्याउ नपाक्दै लिन थालेपछि सिल गरिएको बताए । भदौ ५ गतेपछि मात्रै सिफारिस दिएर निर्यात गरिने उनको भनाई छ ।

लुकीछिपी लिन खोजेको खण्डमा कडा कारबाही गरिने र नाग्म,राराकुडारीका प्रहरी चौकीमा सुरक्षा चेकजाँचमा कडाई गर्न पनि अनुरोध गरिएको छ । तिला संगै जुम्लाका विभिन्न क्षेत्रबाट काँचो स्याउ निर्यात भएको पाइएको छ । काँचो स्याउ निर्यात रोक्न पकट पटक निर्णय र छलफल भएपनि कार्यान्वयनमा सरोकारवालाले ध्यान नदिँदा किसान र व्यापारीको मिलेमत्तो काँचो स्याउ निर्यात हुने गरेको छ ।

तिलाका गोदाम सिल गरेपछि किसान तथा व्यापारीले दुई हप्ता सम्म कार्टुन स्याउ प्याक गरेर राखेपछि पछि कुहिएको खण्डमा पालिकाले जिम्मेवारी लिनु पर्ने माग गरेका छन् । कसैलाई स्याउ लिन दिने र कसैलाई रोक्ने भन्दै गुनासो समेत पोखेका छन् ।

अर्गानिक स्याउ उत्पादनको केन्द्र मानिएको जुम्लाबाट किसान र व्यापारीले क्षणिक लाभका लागि काँचो स्याउ बजारमा लिने गरेका छन् । जसका कारण अर्गानिक तथा स्वादिष्ट स्याउको परिचय पाएको जुम्लाको पहिचानै खतरामा परेको छ ।

स्याउले भर्खर कलर हालेर गुलियोपना भरिदैँ छ । तर गाउँ गाउँमा व्यापारी पुगिसकेका छन् । किसान पनि राम्रो मुल्य पाईने सोचमा विक्री गर्ने मनसायमा छन् । हरेक वर्ष काँचो स्याउको निर्यात रोक्ने छलफल र निर्णय भएपनि रोक्न भने चुनौती देखिएको छ ।

पछि राम्रो मुल्य नपाईने र घरमै थन्काएर राख्नु पर्ने बाध्यताले छिटै टिपेर निर्यात गर्ने गरेको किसानको भनाई छ । यदपी,स्थानीय सरकारले स्याउ खरिदको जिम्मा लिएको खण्डमा असोज सम्म पनि बोटमै राख्न तयार रहेको किसान बताउँछन् । तर किसानको उत्पादनको जिम्मा लिन सरकार तयार छैन् ।

जुम्लाका करिब १९ हजार घरधुरी स्याउ खेती गरीरहेको सरकारी तथ्यांक छ । यहाँका आठै पालिकामा स्याउ खेती हुन्छ । तर अधिकांश किसानलाई स्याउ बगैचा व्यवस्थापनबारे ज्ञान नहुँदा श्रमनुसारको लाभ लिन सकेका छैनन् ।

भने स्याउ किसानलाई ढुवानीमा सहुलियत देखी मलजल तथा बगैचा व्यवस्थापनबारे स्थानीयतहले पनि प्रयाप्त सिप सहित प्रविधि दिन सकेको छैन् । जुम्लामा ग्रेडिङ मेसिन पनि छैन् । जसका कारण जुम्लाको स्याउ हचुवामै विक्री हुने र करोडौ आम्दानी गर्न सकिने सम्भवना भएपनि किसानले घाटा खानु पर्ने बाध्यता छ ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस