जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान, भक्तजनद्दारा भव्य विदाई

जुम्ला ।  जुम्लाको सरकारी टोली भगवती पुजाका लागि बाजुरा स्थित बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि त्यसतर्फ जुम्लाको एक सरकारी टोली प्रस्थान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकिय अधिकृत मीन बहादुर रावलकाे नेतृत्वमा पुजारी विष्णु प्रसाद उपाध्याय  सहित दर्जनौ भक्तजनको टोली बडिमालिका प्रस्थान गरेकाे छ ।

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार शुक्रबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाको छ ।

नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

उनका अनुसार परम्परादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने र जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ ।
नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेका छन् ।

प्रजिअ घिमिरेले बडीमालिका जाने टोली सुरक्षार्थ सिमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालय संग समन्वय गरी सुरक्षा व्यवस्था मजबुद बनाइएको जानकारी दिए ।

जुम्लाका संस्कृती सम्बन्धी जानकार व्यक्ति चित्रलाल श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाउने गरिन्छ ।

बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । सोहि अनुसार बडिमालिकाबाट टोली १७ दिनपछि जुम्ला फर्किने छ ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस