जुम्ला – पछिल्लो समयमा बेरोजगारको नाममा हलो छोड्ने र थलो (जन्मभुमि) छोड्नेको संख्या बुढ्दो छ । रोजगारका लागि खाडी मुलुक जाने युवाको ताती लाग्ने गरेको छ । विदेसिनेहरु अन्तर्राष्ट्रिय विमानस्थलमा भिड देखिन्छ । यहीबेलो केही जुम्ली युवाले भने सीप सिकेर स्वदेशमै स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् ।
एक महिने ड्राइभिङ सीप सिक्दै आएका रविकुमार थापा निकै विकट गाउँबस्ती तिला गाउँपालिका – ९ माथिल्लो खोप्री गाउँका हुन् । उनको गाउँ जुम्लाको सदरमुकाम खलंगा भन्दा निकै टाढा छ । त्यो ठाउँमा अहिलेसम्म मोटरबाटोसमेत पुगेको छैन । त्यहाँ खास गरी सिमि, फापर, आलु, जौँ, गहु र मकै बाली मात्रै उत्पादन हुन्छ । उत्पादन भएको बालीले ६ महिना पनि खाना पुग्दैन । बाँकी ६ महिना ज्यालामजदुरी गरेरै टार्ने हो ।
यसले गर्दा रवि भन्छन् सीप सिकेर आफै स्वरोजगार बनेपछि केही सहज होला भनेर एक महिने ड्राइभिङ सीप सिक्दै आएको छु । उनले भने, चार पाग्रे मोटर ड्राइभिङ सीप सिकिएको हो । चार पाग्रे गाडीको ड्राइभिङको काम पाईए पनि ठिकै छ । यदि पाईएन भने पनि अटो आफै किनेर भएर पनि चलाउने र स्वरोजगार बन्ने योजना बनाएको छु ।
तिला गाउँपालिका – १ रारालिहिका धनलाल परियारले पनि यस्तै योजना बनाएका छन् । उनी भन्छन् आफ्नो घर आगनमै कर्णाली राजमार्ग रहेको छ । एक महिने ड्राइभिङ तालिम लिएको छु । चार पाग्रे गाडी चलाउन सक्ने भईसकेका छौँ ।
सवारी साधन अनुमति पत्र लिएर गाडी नै चलाउने योजना भएका छौँ । गाडी आफै किनेर व्यवसाय सञ्चालन गर्ने आर्थिक अवस्था त छैन । अरुको गाडी चलाउन सकिन्छ । अरु गाडी चलाउन नपाएपनि तीन पाग्रे अटो ऋणजोखो गरेर भएपनि पनि आफै किनेर स्वदेशमै स्वरोजगार बन्ने योजना रहेको उनले बताए ।
धनलाल र रवि जस्तै तिला गाउँपालिकाका १० जना युवाले एक महिने ड्राइभिङ तालिम लिएर सीप सिकेका छन् । उनीहरुले वल्र्डभिजन र किर्डाक नेपालको साहेतामा असार २७ गतेदेखि साउन २७ गतेसम्म एक महिने ड्राइभिङ तालिम लिएका सीप सिकेका हुन् ।
न्यूकर्णाली मोटर ड्राइभिङ सेन्टरका प्रोपराईटर प्रशिक्षक चन्द्रलाल न्यौपानेले एक महिने ड्राईभिङ तालिमले युवाहरु गाडी चलाउन सक्ने भएको बताए । उनले भने आधारभुत र एडभान्स तालिमले गाडी चलान परिपक्क हुन्छन् । अहिले ड्राइभिङको आधारभुत कुरा जानकारी भएको छ । अटो मोटरसाइकल त सजिलै चलाउन सक्छन् । गाडी चलाउन पूर्णरुपमा परिपक्क हुन अझै एडभान्स तालिमको आवश्यकता देखिएको छ ।
वेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले एक महिने ड्राइभिङ सीप सिकाईएको किर्डाक नेपाल जुम्लाका संयोजक दिपराज रावतले बताए । उनले भने, सीप सिकाएर वेरोजगार युवालाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउनका लागि सीप सिकाईएको हो । सिकेको सीप व्यवहारमा लागु गरी व्यवसायिक गर्नुहोला ।



