निगालोका सामाग्रीः जाजरकोटको उत्पादन,जुम्लाको व्यापार

घरखर्च जुटाउन निगालोका सामाग्री बेच्दै चारजना किशोर जुम्ला पुगेका छन् ।

जुम्ला । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ स्याला मुलसाम गाउँका १६ वर्षीय गोविन्द बोहोरा निगालोका सामाग्री विक्री गर्न जुम्ला पुगेका छन् । एक महिनाका लागि विद्यालय वर्खे विदा भएपछि गोविन्द सहित उनका साथी निगालोबाट बनेका सामाग्री बेच्न जुम्ला पुगेका हुन् ।

वनमा पाईने निगालोबाट बनेका अन्नबाली छान्ने (सुपो),रोटी लाग्न प्रयोग गरिने (ढालो,छाप्री) लगायतका सामाग्री बेच्न जुम्ला पुगेका छन् । जाजरकोटको बारेकोट क्षेत्रमा घरघरमा निगालोका सामाग्री उत्पादन हुने भएकोले विक्रीका लागि तीन दिन हिडेर जुम्ला पुगेको गोविन्द बोहोरा बताउँछन् ।

उनीभन्छन,‘घरको आर्थिक अबस्था कमजोर छ । आम्दानीको स्रोत गतिलो छैन् । वनमा पाईने निगालोका वस्तु बनाएर विगतमा बुबा विक्री गर्न जुम्ला आउनु हुन्थ्यो । त्यसकै कमाईले घरखर्च चल्थ्यो । अहिले विद्यालय विदा भएर म आएको हुँ । अहिलेको विक्रीले पढाई र घर जुटाउने सोच छ ।’

घर खर्च जुटाउने सोचले निगालोका सामाग्री बेच्न जाजरकोटबाट गोविन्द सहित १९ वर्षीय राजु बोहोरा,१३ वर्षका भीमराज शाही एक अर्का किशोर जुम्ला पुगेका छन् । जुम्लाका गाउँगाउँ पुगेर सुपो,डालो,छाप्री विक्री गरिरहेका छन् ।

शुक्रबार रारालिहि गाउँमा सुपो विक्री गरिरहेकै अबस्थामा भेटिएका राजु बोहोराले विदाको बेला पढाई खर्च जुटाउन जुम्ला पुगेको बताए । जाजरकोटमा उत्पादन भएको वस्तु जुम्लाका गाउँ गाउँमा प्रति सुपो,ढालो छाप्री ५ सयको रेटमा विक्री गरिरहेको उनको भनाई छ ।

निगालोबाट बनेका करिब डेढसय बढी सामाग्री ल्याएको र सबै विक्री भईसकेपछि मात्रै जाजरकोट फर्किने उनिहरुको योजना छ । सामाग्री बेचेकै पैसाले विहान बेलुका खाने र बचेको पैसाले घर फर्किएर घर खर्चका साथै पढाई खर्चमा लगानी गर्ने बताएका छन् ।

निगालोका सामाग्री बेचिरहेका अर्का किशोर भिमराज शाही भन्छन,‘विगतमा बुबाहरुले जुम्ला पुगेर निगालोका सामान बेच्थे । कमाएको पैसाले दशै तिहार मनाउन्थ्यौ । हाम्रो मुख्य आम्दानीको स्रोतनै निगालोका सामाग्री विक्री हो ।’

निगालोबाट निकै आर्कषक सामाग्री बनाउन सकिन्छ । वर्षामा पानीबाट बच्न ओड्ने स्याकु,दाउरो बोक्ने डोको,ढालो,छाप्री,सुपो,बच्चा सुताउने छयान्नो,पुजा सामाग्री राख्ने टोकरी लगायतका सामाग्री बनाउन मिल्ने शाहीले उल्लेख गरे ।

यी सामागी पर्यटकलाई चिनोका रुपमा समेत प्रदान गर्न सकिन्छ । तर निगालोको प्रर्बद्धन तथा विपन्न समुदायको उत्थानलाई जोडेर स्थानीयले कार्यक्रम ल्याउन नसक्दा गरिबी न्युनिकरण हुन सकेको छैन् ।

स्थानीय सरकार आएपछि पनि विपन्न नागरिकलाई उत्पादन र रोजगारी संग जोड्न कुनै विशेष नीति नभएकोले घर खर्च जुटाउन विद्यालय विदा भएकोले यूवाहरु भौतारिनु पर्ने बाध्यता रहेको जाजरकोटी किशोरहरुको गुनासो छ ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस