पहिरोले कर्णाली राजमार्ग अवरुद्ध,यात्रुलाई सास्ती

जुम्ला । पहिरोले कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि सोमबार कालीकोटको चौखोलामा गएको पहिरोले कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको हो । पटक पटक भईरहेको सडक अबरुद्धले यात्रुलाई सास्ती भएको छ ।

कालिकोटको खाडाचक्र–१० चौखोला नजिकै ठुला ढुंगासहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटिले बताए । उनका अनुसार अविरल वर्षा जारी रहेकोले एक ठाउँको पहिरो पन्छाउन पाएकै अर्को स्थानमा पहिरो खसेर सडक अबरुद्ध हुने गरेको छ ।

विहान भएको अबरुद्ध खुलेपनि दिउँसो १ बजे जुम्ला–कालिकोट खण्डको चौखोलामा ठुला ठुला ढुंगा सहितको पहिरो आउँदा फेरी सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । विभिन्न ठाउँमा आएको पहिरो पन्छाइ सकिएको छ ।

सडक डिभिजनका सूचना अधिकारी जीटि भन्छन,‘वर्षा रातीको समयमा हुने र विहानै पहिरो आउने समस्या कर्णाली राजमार्गमा दोहोरिएको छ । कार्यालयका मेसिन र जनशक्ति सडकमै खटिएका छन् । तर साधन स्रोत सिमित भएका कारण सबै ठाउँमा एकै पटक पहिरो पन्छाउने स्थिती छैन् ।’

दिउँसो १ बजे चौखोलामा आएका ठुला ठुला ढुंगा डोजरले हटाउन सक्ने स्थिती छैन् । सडक खुलाउन ढुंगा खसेकाले विस्फोट गर्नुपर्ने अवस्था रहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले चौखोलामा पहिरो संगै खसेको ढुंगालाई विष्फोट गर्नका लागि नेपाली सेनासँग समन्वय भईरहेको बताए । ब्रेकरले पनि सम्भव नदेखिएकोले विष्फोट गर्नुको विकल्प छैन् ।

प्रजिअ नेपालीले भने,‘कर्णाली राजमार्ग पहिरोले क्षतविक्षत भएको छ । कतै भासिएको छ । कतै पहिरोले निकै सडक साघुँरिएको छ । तर दैनिक सयौँ यात्रुको आवतजावत भईरहेको छ । सडक अबरुद्ध हुँदा बीचमै अलपत्र पर्नुपर्ने स्थिती छ । त्यसैले सडकको अबस्था बुझेर मात्रै यात्रा गर्न जरुरी छ ।’

कर्णाली राजमार्गलाइ वर्षातको समयमा सहज बनाउन सुर्खेत,दैलेख,कालिकोट र जुम्लाको समन्वय प्रभावकारी हुनुपर्ने उहाँको भनाई छ । वर्षात अघिनै विपद्मा हुने सडक अबरुद्ध र संचालनको ठोस योजना बनाउनु पर्नेमा समेत जोड दिए ।

कालिकोटको चौखोलामा ठूलठूला ढुंगासहितको पहिरो सयौ यात्रु अलपत्र परेका छन् । एक दिनमा पुग्न सकिने २३२ किमीको दुरीमा पहिरोका कारण अबरुद्ध हुन थालेपछि ४÷५ दिन लगाएर गन्तव्यमा पुग्नु परेको सुर्खेतबाट जुम्ला आउदै गरेका कृष्णबहादुर शाहीले बताए ।

डोजरले हटाउन नसक्ने भएकोले विष्फोट गर्ने विषयमा जुम्ला कालिकोट आबश्यक समन्वय र तयारी मजबुद हुनु पर्नेमा समेत शाहीले जोड दिए । सडक अबरुद्ध भएपनि मेल सेवा मार्फत यात्रुलाई गन्तव्यमा पुराउने कार्य भईरहेको छ ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस