हिल्साका नागरिक पाउदैनन् स्वास्थ्य सेवा

हुम्ला – नाम्खा गाउँपालिका–५ स्थित हिल्साका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । हिल्सामा स्वास्थ्य चौकी नहुँदा नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भएका हुन् ।
हिल्सामा स्वास्थ्य चौकी नभपछि बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै हिल्साका स्थानीय नागरिकले पटक पटक उपचारको व्यवस्था गर्न माग गरेका छन् ।
हिल्साका स्थानीय नागरिक बिरामी भएपछि ३० किलो मिटर टाढा रहेको चीनको ताक्लाकोट जानुपर्ने भएपछि गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग स्वास्थ्य चौकी स्थापना गरेर नियमित उपचारको व्यवस्था गर्न माग गरिएका हुन् ।
हिल्साका व्यवसायी मुकामबहादुर तामाङले बिरामीका लागि उपचार गर्ने निकाय हिल्सामा नभएका कारण स्वास्थ्य चौकी स्थापना गर्न आवश्यक रहेको बताए । उनले भने, हिल्सामा कोही बिरामी भए चीनको ताक्लाकोटमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।
गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग सामान्य उपचारको व्यवस्था गर्न समेत उनले आग्रह गरेका छन् । ताक्लाकोट लगिने बिरामीहरू सीमा पास प्राप्त गरेकाले मात्र जान पाउँछन् भने सिमापास नभएका बिरामीहरूलाई भने दुई दिन लगाएर जिल्ला अस्पताल लगिने गरिएको उनले बताए । सशस्त्र प्रहरीले प्राथमिक उपचार गर्नुपर्ने बिरामी भए प्रहरी चौकीले औषधि उपलब्ध गराउने जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी बाहेक हाल हिल्सामा ६० घरधुरीका ५ सय ५० स्थानीय बस्दै आएका छन् ।
कोरोना भाइरसपछि चीनले हिल्सा नाका दुई तर्फी सञ्चालन गर्दा नाम्खा गाउँपालिकाले अस्थायी स्वास्थ्य चौकी र कोरोना परीक्षण डेस्क स्थापना गरिएको भए पनि हाल बन्द भइसकेको छ ।
हिल्साका स्थानीयको उपचारका लागि मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारको ५० लाख रुपियाँ आर्थिक सहयोगमा स्वास्थ्य चौकी स्थापना गरिएको भए पनि हाल सो भवन बन्द रहेको छ ।
नाम्खा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले भने हिल्सामा पहिलेदेखि नै स्वास्थ्य संस्थाका लागि भवन निर्माण गरेको भए पनि ’भवन अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्य इकाई के हो ?’ भन्ने जानकारी नै भएन ।
स्वास्थ्य चौकी नभए पनि गाउँपालिका स्वास्थ्य शाखाले समय मिलाएर गाउँघर क्लिनिक मार्फत उपचार गर्ने गरेको संयोजक लामाको भनाइ छ । उनले स्वास्थ्य सेवा कार्यालय हुम्लासँग समन्वय गरेर प्रदेश सरकारसँग दरबन्दी माग गरेको बताए ।

प्रकाशित मिति : २०८१ साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस