जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका स्थानीयलाई भूकम्प प्रतिरोध पूर्वाधार निर्माणका लागि दक्ष मिस्त्री तालिम दिइएको छ । पछिल्लो समय बढ्दो भुकम्पीय जोखिमलाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी पूर्वाधार निर्माणका लागि दक्ष मिस्त्री डर्कमी तालिम दिईएको हो ।
भूकम्प आफैले भन्दा हाम्रो कमजोर संरचनाका कारणले ठुलो जनधनको क्षति हुदैँ आएको छ । गत कार्तिक १७ गते जाजकोटको रामिडाँडा केन्द्र भएर भूकम्प जाँदा कमजोर संरचनाकै कारण ठुलो जनधनको क्षति भएको थियो । जाजरकोटमा कमजोर र पुराना परम्परागत जीर्ण संरचनाकै कारण ठुलो क्षति भएको समेत भूकम्प विदहरुले बताएका थिए ।

विज्ञहरुका अनुसार कर्णाली प्रदेश पछिल्लो वर्षमा भूकम्पको उच्च जोखिममा रहेको छ । भविष्यमा हुन सक्ने जोखिमबाट बच्न र क्षति न्युनिकरणका लागि सिंजामा भूकम्प प्रतिरोधी भवन निर्माण गर्न दक्ष मिस्त्री तालिम दिइएको पेश नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए । उनका अनुसार सिंजा गाउपालिका र पेस नेपाल जुम्लाको साझेदारीमा ५ दिने दक्ष मिस्त्री तालिम संचालन गरिएको हो ।
उक्त तालिमबाट सिंजाका १९ जना स्थानीयहरु लाभान्वित भएका छन् । उनिहरुले भूकम्प प्रतिरोधी भवन निर्माणका सैदान्तिक तथा प्रयोगात्मक सिप सिकेको बताएका छन् । स्थानीय स्रोत साधनकै प्रयोग गरेर भूकम्प प्रतिरोधी संरचना बनाउन सकिने विषयमा धेरै ज्ञान प्राप्त भएको उनिहरुको भनाई छ
सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गत कार्तिककै भूकम्पबाट सिंजा क्षेत्रमा आंशिक क्षति भएको बताईन् । परम्परागत शैलीका मात्रै घर बनाउने ससमस्याले जोखिम बढेको बेला दक्ष मिस्त्री उत्पादनको तालिमले भूकम्प प्रतिरोधी भवन बनाउन टेवा पूगने बताईन् ।
उलने भनिन,‘आफैले वनाएको संरचनाले आफैलाई जोखिम निम्ताउने भएकोले भवन निमाणर्मा ख्याल गर्नुपर्छ । त्यसका लागि सिप ज्ञान जरुरी पर्छ । हामी सिंजाका सबै वडालाई लक्षित गरेर दक्ष मिस्त्री तालिम दिएका छौ । अब बन्ने सबै संरचना भूकम्प प्रतिरोधी बन्ने आशा छ ।’



